धनगढी। धनगढीमा अबैध भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन्। धनगढी ३ मिलनचोकबाट भन्सार छलिका सामानसहित कैलालीको गोदावरी नगरपालिका–५ बस्ने भारत विहारका ३८ वर्षीय सन्दिप कर्ण आइतवार पक्राउ परेका हुन्।
सन्दिपले चलाएको सु.प.प्र.०१००८ प ६६७२ नम्बरको मोटरसाइकलसहित अन्दाजी ६९ हजार २ सय ७५ मुल्य बराबरको छाता, कुर्ती, मेहन्दि, चिनी, नरिवल तेल, पेठा, सोडा, डिटल पाउडर, रंगहरु बरामद गरिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले नियन्त्रणमा लिएको हो। यस्तै धनगढी-३ मिलन चोकबाटै भन्सार छलीका २० हजार मुल्य बराबरको २० जोर जुत्ता प्रहरीले बरामद गरेको छ।
प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ। यस्तै धनगढी-२ फनपार्क नजिकबाट भन्सार छलिका अन्दाजी १५ हजार मुल्य बराबरको सुर्ती, मसला, चिनी, आन्टी, कालो नुनलगाएतका सामान बरामद गरिएको छ। बेवारीसे अवस्थामा उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको र प्रहरीले सो सम्बन्धमा थप अनुसन्धान भैरहेको जनाएको छ।