धनगढी। लामो समयपछि वर्षा भएपछि सुदुरपश्चिमका किसानहरु खुसी भएका छन्। मनसुन सक्रिय भएसंगै कैलाली र कञ्चनपुरसहित सुदुरपश्चिमका पहाडी जिल्लामा शनिवार राती वर्षा भएको छ।
कैलाली र कञ्चनपुर जिल्लामा लामो समयपछि शनिवार राती देखी आज बिहानसम्म बर्षा भएपछि सर्बसाधारण तथा किसानलाई राहत मिलेको छ। बर्षाले बर्खेबालीलाई फाइदा पुग्नुका साथै रोपाँइका लागि सहज भएको किसान बताउँछन्। वर्षाले कैलाली र कञ्चनपुरमा सुक्न लागेको बिउमा राहात पुगेको छ भने कतिपयले रोपाँई सुरु गरेका छन्। उता सुदुरपहाडका जिल्लामा सिँचाइ असुविधा रहेका ठाउँमा रोपाँइ शुरु भएको छ।
बैतडीका किसान वर्षापछि रोपाइँ गर्न पाएको र वर्षे बालीलाई पनि राहत पुगेपछि खुसी छन्। रोपाइँका लागि वर्षाले निकै राहत गरेको बैतडीको दोगडाकेदार–३ श्रीकोटका किसान प्रेमसिंह धामीले बताए । यसअघि असार पहिलो सातासम्म पनि रोपाइँका लागि वर्षा नहुँदा किसान चिन्तित भएका रोपाइँ गर्न नसकिएको बताए। वर्षे बालीलाई पनि राहत पुगेको र रोपाइँ पनि सुरु भएको धामीले बताए ।
यसअघि वर्षा नभएर रोपाइँ गर्न नसकिएको र मकै, भटमासलगायतका बर्खेबाली सुक्ने अवस्थामा पुगेका र वर्षाले राहत भएको मेलौली नगरपालिका–२ सलेनाकी हसांदेवी चन्दले बताए। उनले भने, वर्षा नहुँदा सुक्न लागेका बालीनालीलाई पनि राहत भयो, रोपाइँ गर्न पनि सहज भएको छ। वर्षा भएसँगै यहाँका किसानलाई रोपाइँ गर्न चटारो परेको छ। सिँचाइको सुविधा भएको ठाउँमा रोपाइँ अन्तिमतिर पुगेको र आकाशे पानीले रोपाइँ हुने क्षेत्रमा पनि धमाधम भइरहेको छ।
जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ । बैतडीमा जेठको अन्तिम सातादेखि नै रोपाइँ गर्न सुरु गरिएकामा असार मसान्तसम्म समाप्त हुने किसानले बताएका छन्। जिल्लाको सुर्नया नदी किनार, चौलानी नदी किनार, पुर्चौडीको हाट, पाटन, पञ्चेश्वरलगायतका बेँसी क्षेत्रमा रोपाइँ भए पनि अन्य क्षेत्रमा वर्षापछि हाल भइरहेको छ। पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरा धानखेतीको पकेट क्षेत्र हुन् । बैतडीमा नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ।