सुर्खेत। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफू हत्यारा नभएको स्पष्टीकरण दिएका छन्। हत्यारा भएको भए नागरिकहरूले आफूलाई चार ट्रक मालाले स्वागत नगर्ने बताए।
पार्टी कार्यक्रमका सिलसिलामा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आएका रेशमलालले सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कर्णाली आउँदा आफूलाई विमानस्थलमा स्वागत होला भनेर नसोचेको समेत बताए। उनले भने, ‘म एउटा हत्यारा भएको भए मलाई मान्छेले यसरी किन स्वागत गर्थे होला१ हिसाब गर्ने हो भने अहिलेसम्म चार ट्रक मालाले स्वागत गरेका छन्।’
टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरी गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले झन्डै १५ वर्ष कैद माफी पाएपछि गत जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका हुन्।विं.सं. २०७२ मा राज्य पुनर्संरचनाका क्रममा सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलन सुरु भएको थियो। त्यसै क्रममा त्यही साल भदौ ७ मा टीकापुरमा हिंसात्मक घटना भएको थियो।
जसमा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालक मारिएका थिए। पूर्वसांसद चौधरीले कर्णालीको पीडा राज्यले बुझ्न नसकेको, धेरैले कर्णालीलाई बेच्ने बाटो बनाएको भन्दै अब नागरिक उन्मुक्ति पार्टीले खबरदारी गर्ने दाबी गरे। यस्तै रेशमलालले सुदूरपश्चिम प्रदेशको नाम ‘सुदूरपश्चिम’ राम्रो नभएको र त्यो बदल्नुपर्ने तर्क राख्दै सुदूरका भूमिपुत्रहरुको सम्मानका लागि पनि पहिचानका आधारमा नामको तय गर्नुपर्ने बताए। साथै उनले थरुहट प्रदेश नाम राख्नुपर्ने आशय व्यक्त गरे। रेशमलालले पत्रकारहरुलाई टीकापुर घटनाबारे प्रश्न नगर्न आग्रह गरेका थिए। प्रश्नको उत्तर दिँदादिँदा थाकेको भन्दै उनले बरु नवीनतम प्रश्न राख्न पत्रकारलाई आग्रह गरे। यति भनेपछि पत्रकारहरूले पनि टीकापुर घटनाबारे चौधरीलाई कुनै प्रश्न गरेनन्।