अत्तरिया। कैलालीको अत्तरिया स्थित बसपार्कमा आज डेउडा खेल भएको छ। गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आएको संघर्ष समितिको आयोजनामा डेउडा खेल भएको हो । संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)का अनुसार शनिवार आज साँझ ५ बजे अत्तरिया बसपार्कमा डेउडा खेल भएको हो।
डेउडाबाट गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गरिएको छ । डेउडा खेलमा सहभागीहरुले विश्वविद्यालय सञ्चालन सम्बन्धी बिभिन्न ब्यानर तथा पोष्टर टाँसेर खेल खेलेका थिए ।
संयोजक पाण्डेका अनुसार डेउडा गायकहरु दीर्घराज फुलारा र गणेश विष्ट डेउडा खेलमा सहभागी भएका थिए । गेटामा सरकारले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि ऐन निर्माण गर्नुपर्ने र ६ सय शप्याको अस्पताल सञ्चालन गर्नुपर्ने माग गर्दै कैलालीमा आन्दोलन जारी रहेको छ । आन्दोलनका कार्यक्रम अन्तरगत शनिवार डेउडा खेलिएको हो।