धनगढी। कैलालीमा बस र ट्रक ठोक्किएर दुर्घटना भएको छ। कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० घुम्तिभाकलमा बस र ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ गइरहेको म १ ख ९०९ नम्बरको बस र बिपरीत दिशा तर्फ अर्थात पुर्वबाट पश्चिम तर्फ आइरहेको सुप ०१००१ ख २७५९ नम्बरको मदिराको लोड गरिएको ट्रक एक आपसमा ठोक्किएका हुन्। बस र ट्रकका चालक, सहचालक तथा यात्रु गरी १९ जना घाईते भएको सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
दुर्घटनामा ट्रक चालक कैलालीको जोशीपुर गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय कृष्ण चौधरी गम्भीर घाइते भएका प्रहरीले बताएको छ । उनलाई भेरी अस्पताल बाँके रेफर गरिएको बताइएको छ । बस चालक बैतडीको पाटन नगरपालिका–७ का ३८ वर्षीय तेजसिंह ठगुन्नालाई पनि नोभा अस्पताल धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । त्यस्तै, बसका सहचालक कैलालीको गोदावरी नगरपालिका–२ का ४० वर्षीय बिर्खबहादुर रानामगर पनि घाइते भएका छन् ।
प्रहरीका अनुसार अन्य घाइते हुनेमा कैलालीको टीकापुर नगरपालिका–१५ की ४२ वर्षीया यशोदा कठायत, टीकापुर–३ की ३५ वर्षीया पुष्पा सिर्पाली, १० वर्षीय जोन सिर्पाली, टीकापुर–१ की ३५ वर्षीया कमला रावल भण्डारी र टीकापुर–४ का ४ वर्षीय सलुन भण्डारी रहेका छन् ।
त्यसैगरी, कैलालीकै घोडाघोडी नगरपालिका–१ का ५१ वर्षीय प्रेमलाल चौधरी, घोडाघोडी–१० की २३ वर्षीया चित्रा शाही, २१ वर्षीय रुपेश शाही, बर्दगोरिया गाउँपालिका–६ की २५ वर्षीया मिना बम र उनकी एक वर्षीया छोरी सरस्वती बम रहेका छन् ।बर्दियाको राजापुर नगरपालिका–३ की २२ वर्षीया सुष्मा चौधरी उनको एक वर्षीय छोरा कायरन चौधरी र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ की ७० वर्षीया मोति मिजारा घाइते भएका छन् । दुर्घटना हुँदा नजिकै रहेका साइकलयात्री भाग्ने क्रममा घाइते भई स्थानीय कुष्मि मेडिकल पहलमानपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जसमा घोडाघोडी नगरपालिका–५ की ४० वर्षीया फूलकुमारी चौधरी, २६ वर्षीया रितिका चौधरी र १६ वर्षीया प्रगती चौधरी रहेका छन् ।


