धनगढी। परीक्षामा फेल भएका र सहभागी नै नभएकाहरूलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिएको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन प्रमुख लक्ष्मण शाह, तत्कालीन सहायक कम्प्युटर अपरेटर नरेन्द्रकुमार कठरिया र पवनकुमार रावलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
कार्यालय प्रमुख शाहले प्रयोगात्मक परीक्षामा फेल भएका परीक्षार्थीहरुलाई उत्तीर्ण गराएको र लिखित परीक्षामा उत्तीर्ण नभएका र लिखित परीक्षामा समावेश नभएका सयौं परीक्षार्थीहरुलाई प्रयोगात्मक परीक्षामा सामेल गराई उत्तीर्ण गराएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।आर्थिक वर्ष २०७८/७९ मा शाही यातायात व्यवस्था कार्यालय धनगढी प्रमुखका रुपमा कार्यरत रहेका बेला उक्त बदमासी भएको अख्तियारले जनाएको छ ।
शाहीले आफ्नो आधिकारिक युजर आइडी प्रयोग गरी वर्ग A, B, C/C1, K, र J1 का सवारी चालक अनुमतिपत्रको लागि लिइएका लिखित परीक्षाहरुमा अनुत्तीर्ण भएका १८० जना परीक्षार्थीहरूको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण जनाई लिखित परीक्षाको नतिजा प्रतिवेदनमा विवरण प्रविष्ट (अपलोड) गरेको र त्यस क्रममा निजले प्रविष्ट(अपलोड) गरेका उक्त १८० जना परीक्षार्थीहरूमध्ये १३ जनाको उत्तरपुस्तिकाहरूमा परीक्षकले लेखेको नतिजा/प्राप्तांकलाई रि–राइट, ओभर–राइटसमेत गरी सच्याएको, वर्ग A, B, E, G र K का सवारी चालक अनुमतिपत्रको लागि लिइएका प्रयोगात्मक परीक्षामा उपस्थित नै नभएका ३९ जना, फिल्ड प्रतिवेदनको नतिजा/प्राप्तंकमा रि–राइट, ओभर–राइटसमेत गरी उत्तीर्ण बनाइएका २३ जना र परीक्षामा अनुत्तीर्ण भएका २२१ जना गरी जम्मा २८३ जना परीक्षार्थीहरूको फिल्ड प्रतिवेदनको नतिजा फेरबदल गरी उत्तीर्ण जनाई तोकिएको प्रणालीमा प्रविष्ट गर्ने काम गरेको र उक्त २८३ जनामध्ये २१ जना परीक्षार्थीहरूको नतिजालाई आफैंले स्वीकृत गर्ने कामसमेत गरेको आयोगले जनाएको छ।
शाहले सवारी चालक अनुमतिपत्रको लागि लिइएको लिखित परीक्षामा १८० जना र प्रयोगात्मक परीक्षामा २८३ जना परीक्षार्थीहरुको परीक्षाको परिणाम फेरबदल गरी गर्न लगाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको तथा लिखित परीक्षामा १३ जनाको उत्तरपुस्तिकाहरूको नतिजा/प्राप्तांक र २३ जनाको नतिजा/प्राप्तांक सच्याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको पुष्टि भएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै कठरिया र रावलले आफ्नो आधिकारिक युजर आइडी प्रयोग गरी वर्ग A, B, र K का सवारी चालक अनुमतिपत्रको लागि लिइएको लिखित परीक्षाहरुमा अनुत्तीर्ण भएका ६१ जना परीक्षार्थीहररुको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण जनाई लिखित परीक्षाको नतिजा प्रतिवेदनमा विवरण प्रविष्ट (अपलोड) गरेको एवं वर्ग A, B, C/C1, E, F, G र K का सवारी चालक अनुमतिपत्रको लागि लिइएका प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण/अनुपस्थित भएका २८३ जनाको परीक्षाको परिणाम फेरबदल गरी प्रतिवादी लक्ष्मण शाहले नतिजा प्रविष्ट गरेकोमा परीक्षामा उपस्थित नै नभएका २५ जना र अनुत्तीर्ण भएका १३९ जना गरी जम्मा १६४ जना परीक्षार्थीहरुको प्रविष्ट नतिजालाई स्वीकृत गरेको आयोगको दाबी छ।