कैलाली। सुदूरपश्चिम प्रदेशमा वैदेशिक लगानीका ६२ आयोजना रहेको नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनको प्रतिवेदनले देखाएको छ। लगानीका हिसाबले अन्य प्रदेश भन्दा पछाडि रहेको सुदूरपश्चिम प्रदेशमा वैदेशिक परियोजना बढी रहेका छन्।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा सुदूरपश्चिम प्रदेशमा वैदेशिक लगानी प्रस्ताव गरिएका ६२ वटा परियोजना छन् । जम्मा लागत ४ अर्ब ८० करोड रुपैयाँ रहेको उक्त परियोजनामा वैदेशिक लगानीको अंश २ अर्ब ४९ करोड ६४ लाख (५२ प्रतिशत) रहेको प्रतिवेदनमा उल्लेख छ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामध्ये कञ्चनपुरमा सबैभन्दा बढी २३, कैलालीमा १९, बैतडीमा ८, अछाममा ४, दार्चुला र डडेल्धुरामा ३/३, डोटी र बझाङमा १/१ परियोजनामा वैदेशिक लगानी प्रस्ताव गरिएको छ।
परियोजना लागतका हिसावले कैलालीमा सबैभन्दा बढी २ अर्ब ९८ करोड र सबैभन्दा कम डोटीमा १ करोड वैदेशिक लगानी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै, आर्थिक वर्ष ०७९/८० को फागुन मसान्तसम्म राष्ट्रिय रुपमा विदेशी लगानी स्वीकृति पाएका उद्योगहरुको संख्या ५ हजार ६ सय ९२ छ । त्यसमध्ये सुदूरपश्चिम प्रदेशमा यस्ता उद्योगहरुको संख्या ५० रहेको छ । आर्थिक वर्ष ०७९/८० को फागुनसम्म विदेशी लगानी स्वीकृति पाएका उद्योग सबैभन्दा बढी (८२ प्रतिशत) वाग्मती प्रदेशमा र सबैभन्दा कम (०.९ प्रतिशत) सुदूरपश्चिम प्रदेशमा रहेको छ ।
यस्तै, चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा रहेका उद्योगको औसत क्षमता उपयोग ३६.२४ प्रतिशत छ । सो अवधिमा चिनी, गहुँको पिठो, इट्टा, तोरीको तेल, कंक्रिट उत्पादन गर्ने उद्योगको अधिकतम क्षमता उपयोग भएको देखिएको छ । तर, रोजिन प्रशोधित दूध, साबुन र चामल उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोग अत्यन्तै न्यून रहेको छ। जसअनुसार रोजिन उत्पादन गर्ने उद्योगमा कामदारहरुको अभाव, कच्चा पदार्थ संकलनमा भएको ढिलाई र उद्योग पूर्ण रुपमा सञ्चालन हुन नसकेको कारण उत्पादन न्यून देखिएको राष्ट्र बैंकले जनाएको छ।
प्रतिवेदनमा सुदुरपश्चिम प्रदेशमा सञ्चालन भएका उद्योगमध्ये गहुँको पीठो, रोजिन र इट्टा उत्पादनमा उल्लेख्य रुपमा ह्रास आएको तर अन्य वस्तुहरुको उत्पादनमा वृद्धि भएको उल्लेख गरिएको छ । प्रदेशका उद्योगहरुमा १ हजार ३ सय ५३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । रोजगारीमा आबद्ध महिलाको हिस्सा ११.९८ र पुरुषको ८८.०२ प्रतिशत रहेको छ । यस्तै प्रतिवेदनले उद्योगहरुले प्रदान गरेको कुल रोजगारीमध्ये करिब २१ प्रतिशत भारतीय नागरिक रहेको बताएकोे छ ।