धनगढी। एसपीए कलेज धनगढीमा अध्ययनरत विद्यार्थी समुयल न्यौपानेले अन्तर्राष्ट्रिय एभरेस्ट क्लाईमेट एक्सन अवार्ड पाएका छन्।
एसपीए कलेजमा स्नातक दोस्रो वर्षमा अध्ययनरत समुयललाई युवा तथा खेलकुद मन्त्रालयको आयोजना र युथ डेभलपमेन्ट सेन्टर एवं राष्ट्रिय युवा परिषद्को सहआयोजनामा काठमाडौंमा मंगलबार भएको साउथ एसियन क्लइमेट एक्सन कन्फ्रेन्समा उपराष्ट्रपति रामसहाय यादवले उक्त अवार्डबाट सम्मानित गरेका हुन्।
कन्फ्रेन्समा सहभागी नेपाल, भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका ६९ जना र नेपालबाट २४ जना युवाहरुमाझबाट समुयललाई उक्त अवार्ड दिइएको हो। सहभागीमध्ये समुयलसहित २० जनाले उक्त अवार्ड पाएका थिए। लामो समयदेखि ग्रीन क्लिन धनगढीको अभियानमार्फत धनगढीलाई सफा, स्वच्छ र हराभरा बनाउँने अभियानको नेतृत्व गरेको भन्दै समुयललाई उक्त अवार्डले सम्मानित गरेको हो।
समुयल धनगढीमा वातावरण संरक्षण र जनचेतना अभिवृद्धि गर्ने कार्यमा विगत १० बर्षदेखि निरन्तर लागिरहेका छन्। ग्रीन क्लिन धनगढीको निर्देशक समेत रहेका उनले वृक्षरोपण, सरसफाइ, सामुदायिक जनचेतनाका साथै विशेष रूपमा ‘एक विद्यालय एक ईको क्लब’ अभियान संचालनमा ल्याएका छन्। उक्त क्लब हाल धनगढीको विभिन्न १७ वटा विद्यालयहरूमा संचालनमा रहेका छन्।
जसले आफ्नो वरपरको वातावरण संरक्षणमा विभिन्न काम गर्दै आएको छ। यसका लागि वातावरण सम्बन्धि जनचेतना जगाउने उदेश्यले समुयलले देशव्यापी ’धनगढी वक्तित्व प्रतियोगिता’ को आयोजना गर्दै आएका छन्। नेपालभरिबाट प्रतिस्पर्धीहरु सहभागी गराई राष्ट्रिय स्तरमा नै वातावरण सम्बन्धि जनचेतना फैलाउने गरिएको छ। उनको नेतृत्वमा ग्रिन क्लिन धनगढीले यस क्षेत्रमा मात्रै १५ सयभन्दा बढी वातावरण स्वयंसेवकहरूहरु तयार गरिसकेको छ।