धनगढी : गेटामा सहिद दशरथचन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय तत्काल सञ्चालनको माग राख्दै जारी आन्दोलन चर्किएपछि प्रहरीले हस्तक्षेप बढाएको छ । आज बिहान ९ बजेदेखी १२ बजेसम्म सरकारी गाडी चल्न नदिने संघर्ष समितिको कार्यक्रम अनुसार गेटा, अत्तरिया, लालपुर तथा गुलरिया लगायतका ठाउँमा आन्दोलनरत पक्षले सरकारी गाडी रोकाएका थिए स सोही क्रममा एक सरकारी गाडीले रोक्न नमानेपछि आन्दोलनकारीले ढुगां प्रहार गर्दा गाडी तोडफोड भएको छ ।
सोही क्रममा इलाका प्रहरी कार्यालय अत्तरियाले दुई जना आन्दोलनकर्ताहरुलाई पक्राउ गरी हिरासतमा राखेको छ । त्यस संगै बिश्वबिद्यालय सञ्चालनार्थ सघंर्ष समितिको नेतृत्वकर्ताहरुलाई समेत प्रहरीले खोजी गरिरहेको छ । समितिका संयोजक लोकराज पाण्डे, सह संयोजक आनन्द भट्ट, सचिव धर्म सिहं कुँवर लगायतका ब्यक्तीहरुका घरमा प्रहरीले छापा हानिरहेको छ । उनिहरुलाई पक्राउ गर्न माथीको आदेश भन्दै प्रहरीले खोजी गरिरहेको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेतीले भने नेतृत्वकर्ताको खोजी भन्दापनि दिउँसो सरकारी गाडी तोडफोड गर्नेहरुलाई खोजिरहेको बताएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक गणेस बरालले दिउँसो २ वटा सरकारी गाडीमाथी तोडफोड भएको बताए । आज दिउँसो आन्दोलनकारीले खोजी खोजी दुई वटा सरकारी गाडी तोडफोड गरेका छन्, संलग्न २ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पठाएका छौँ, अन्यको खोजी भइरहेको छ बरालले भने “त्यसमा नेतृत्व गर्नेहरुपनि संलग्न छन भन्ने आएको छ, प्रमाण हेरेर हामी खोजतलास गर्दैछौँ संलग्न सबैलाई कार्वाही हुन्छ ।”
आन्दोलनमा तोडफोड भएको घटनाको नैतिक जिम्मेवारी सघर्ष समितिले लिएको छ । संघर्ष समितिका संयोजक लोक राज पाण्डेयले एक प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनका क्रममा गाडी तोडफोड भएको घटनाको आफूहरुले नैतिक जिम्मेवारी लिने उल्लेख छ ।
आज बिहान ९ बजे देखि १२ बजे सम्म सरकारी सवारी साधन रोक्ने पुर्वनिर्धारित कार्यक्रम अन्तर्गत केही ठाउँमा छिटपुट घटना भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा भनीएको छ ‘आन्दोलन चलिरहेको अवस्थामा केहि सरकारी गाडिले आन्दोलनरत साथिहरुको भनेको अटेरी गरि हाम्रा साथिभाइहरुलाइ नै कुचल्ने गरि भाग्न खोजेको अवस्थामा केही छिट्पुट घटना हुनगएको प्रती हामी हामी नैतिक जिम्मेवारी लिन चाहान्छौ ।’
मंगलबार गोदावरी नगरपालिका ३ चौकीडाडाँमामा बाँके जिल्ला अदालतको प्रदेश ३०१ ००२ झ ५२०२ नम्बरको गाडीमा तोडफोड भएको थियो । तोडफोडबाट गाडीको पछाडिको सिसा फुटेको छ । सङ्घर्ष समितिले माघ २९ गतेको निर्णय कार्यान्वयन गरी चालु अधिवेशनमै मेडिकल विश्वविद्यालयको विधेयक ल्याउनुपर्ने र ६ सय शय्याको अस्पताल सञ्चालन गरिनुपर्ने माग गर्दै आन्दोलनका कार्यक्रम गर्दै आइरहेको छ । विज्ञप्तीमा आन्दोलनको क्रममा परेका २ जनालाई यथाशीघ्र रिहाइ गर्न माग गरिएको छ । रिहाइ नभएको खण्डमा कडा आन्दोलन गर्ने चेतावनी समेत विज्ञप्तीमा दिइएको छ । आन्दोलनका क्रममा दिपक बोहरा र भेज बोहरा पक्राउ परेका थिए ।