धनगढी। कैलालीमा सरकारी गाडी तोडफोड गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। मङ्गलबार बिहान कैलालीको अत्तरियास्थीत चौकीडाँडामा सरकारी नम्बरको गाडी तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
चौकीडाँडामा प्रदेश ३-०१-००२ झ ५२०२ नम्बरको जिल्ला अदालत बाँकेको सरकारी गाडीको पछाडीको सिसा तोडफोड गरिएको थियो। इलाका प्रहरी कार्यालय मालाखेतीले सरकारी गाडी तोडफोड गरेको आरोपमा दिपक बोहरा र भेष बोहरालाई पक्राउ गरेको जनाएको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गणेश बरालले उनीहरुलाई घरबाट पक्राउ गरेको बताए।
आज बिहान ९ देखी १२ बजेसम्म शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापर्नाथ संघर्ष समितिले कैलालीमा सरकारी गाडी सञ्चालनमा रोक लगाएको थियो। पुर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरी ३ चौकीडाडाँमा विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका बन्दकर्ताहरु सडकमा उत्रिएर सरकारी गाडी आवतजावतमा रोक लगाइरहेका थिए। यता गेटामा विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डे(आगो)ले प्रहरीले आन्दोलनकर्तामाथी दमन गरेको बताए । उनले आन्दोलन कम्जोर पार्न प्रहरी लागेको र युवाहरुलाई पक्राउ गर्न थालेको बताए।