कैलाली। सुदूरपश्चिम प्रदेश सभाका सांसदहरुलाई प्रदेश भ्रमणमा लगिने भएको छ। आर्थिक वर्षको अन्त्यमा भ्रमणका लागि रकमान्तर नै गरेरै सांसदहरुलाई बिभिन्न प्रदेश भ्रमणमा घुमाउन लैजान लागिएको हो।
प्रदेश सरकारले असार १ गते आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो । तर प्रस्तुत गरेको बजेटमाथि छलफल नै नगरी सांसदहरुलाई प्रदेशसभा सचिवालयले भ्रमणमा लैजान लागेको हो। बजेटप्रति सत्तापक्ष बिचकै बिरोध भएको बेला र र बजेटकै बजेटमाथि छलफल गर्न बैठक अनिश्चित हुँदा चर्को आलोचना भएको छ।
बजेटमा छलफल थाल्नुको सट्टा भ्रमण जाने तयारीको विषयगत समितिका केही सदस्यले विरोध गरेका छन् । केही आर्थिक मन्दीका बेला फोकट खर्च गर्न नहुने भन्दै नजाने बताइरहेका छन् । बजेटमाथिको छलफलका लागी मिती नतोकिदा यहाँका सांसदहरूलाई घुमाउने तयारीमा प्रदेशसभा सचिवालय तयारीमा रहेको छ । आर्थिक वर्ष सकिन लाग्दा भ्रमणका लागि ३७ लाख रकमान्तर गरेर उनीहरूलाई घुमाउन लागिएको छ ।
अर्थ विकास तथा प्राकृतिक समिति, सामाजिक विकास समिति, विधायन तथा प्रदेश मामिला समितिमा १०/१० लाखका दरले ३० लाख रूपैयाँ विधेयकमाथिको छलफलका लागि राखिएको थियो । सार्वजनिक लेखा समितिका लागि भने ७ लाख रूपैयाँ प्रदेशसभाका सचिवालयको सचिवस्तरीय गोष्ठीबाट रकमान्तर गरिएको छ । समितिका पदाधिकारी तथा सदस्यहरूलाई घुमाउन भनेर प्रदेशसभा सचिवालयसँग बजेट थिएन । आर्थिक वर्षको अन्तिमसम्म विधेयक दर्ता हुन नसकेपछि उक्त बजेट रकमान्तर गरिएको हो ।
केही दिनअघि नै विषयगत समितिले रकमान्तर गरेर भ्रमणमा जाने निर्णय गरेका थिए । त्यसपछि प्रदेशसभा सचिवालयले आर्थिक मामिला मन्त्रालयलाई पत्र पठाएको थियो । हिजो साँझसम्म अर्थबाट रकम नआएपछि आज जाने भनिएको भ्रमण सरेकाले भोलि जाने कुरा भएको स्रोतले बताएको छ । सामाजिक विकास समिति डडेल्धुरा बैतडी र दार्चुला जाने तयारीमा रहेको छ । आधा दर्जन सांसद र केही कर्मचारीसहितको टोली भोलि जाने तयारीमा लागेका छन् ।
सामाजिक विकास समिति यसअघिकै अनुगमन र निरीक्षणको रकमबाट भ्रमणमा जाने तयारी गरिएको हो । विधायन तथा प्रदेश मामिला समितिका पदाधिकारी र सदस्यहरू लुम्बिनी र गण्डकीको भ्रमणमा जाने तयारी गरेका छन् । अहिलेसम्म उपसभामुख कोइलीदेवी चौधरी र ९ जना सांसदसहित करिब १९ जनाको टीम जाने तयार गरिएको छ । तर, अर्थ मन्त्रालयले आज साँझसम्म बजेट उपलब्ध नगराए भोलिको कार्यक्रम स्थगित हुने बताएको छ । सार्वजनिक लेखा समिति कर्णाली र गण्डकीको ७ दिने भ्रमणमा जाने तयारी गरेको हो । ९ जना सांसद र तीनजना कर्मचारी त्यता जाने तयारीमा छन् ।
अर्थ विकास तथा प्राकृतिक समितिले यस अघि गण्डकी प्रदेश र लुम्बिनी प्रदेश भ्रमणको तयारी गरेको थियो । तर, ज्येष्ठ सदस्य मानबहादुर रावलले तत्काल भ्रमण जान उपयुक्त नभएको निर्देशन दिएर आफू काठमाडौं लागेका छन् । समितिका ज्येष्ठ सदस्यविना पनि भ्रमण जाने वा निर्देशनअनुसार भ्रमण स्थगित गर्ने भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन । सभामुख भीम भण्डारी पनि यसै समितिसँगै भ्रमणमा निस्कने तयारीमा थिए । प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले अहिलेसम्म अर्थमन्त्रालयबाट रकमान्तर गरिएको रकम उपलब्ध नभएकाले आज बजेट उपलब्ध भएपछि भ्रमणमा जाने कुरा भएको बताए । अर्थमन्त्रालय स्रोतले आज साँझसम्ममा रकम निकासा हुन सक्ने बताएको छ ।