धनगढी। धनगढी उपमहानगरपालिकाले ४सय २८ जना घर धनीलाई सम्मान गर्ने भएको छ। धनगढी उप-महानगरपालिकाले उप-महानगरपालिका भित्रका मुख्य सडक विस्तार गर्दा आफ्नो घर आफैं भत्काउने घर धनीलाई सम्मान गर्ने जनाएको हो।
नगरप्रमुख गोपाल हमाललेअसार ६ गते बुधवार मुख्य सडकको शिलान्यास गरिने र त्यसपछि आफ्नो घर आफै भत्काएर उपमहानगरलाई सडक निर्माण गर्न सहयोग गर्ने घर धनीलाई सम्मान गरिने बताए। प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले बुधवार नै कैलाली पुलदेखि क्याम्पस चोक सडकको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
सडक उद्घाटन पश्चात् घर भत्काएर सहयोग गर्ने नगरवासीलाई उपमहानगरले धनगढीकै सौराइँ पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरि सम्मान गन बताएको छ । प्रदेश सरकारले धनगढी कैलाली पुलदेखि क्याम्पस चोक सडक निर्माणका लागि ५१ करोड ६९ लाखमा यहीँ बैशाख २७ गते २४ महिनाभित्र काम सक्ने गरि ठेक्का सम्झौता गरेको छ। २ किलोमिटर ३ सय मिटर लम्बाईको मुख्य सडक ३० मिटर चौडा बन्नेछ।
उपमहानगरले विकास निर्माणमा स्थानीय घर धनीले सहयोग गरेको कामको मूल्याङ्कन गर्दै सम्मान गर्ने कार्यक्रम राखेको हो। विकास निर्माणमा स्थानीयको सहयोग र खबरदारी दुबै भए काम गर्न सहज हुने नगरप्रमुख हमालले बताए। उनले नगरवासीले खबरदारी र सहयोग दुबै गर्नुपर्ने बताए। आफ्नो भौतिक संरचना आफै भत्काएर घर धनीले ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियानमा पुर्याएको योगदानको उच्च कदर गर्दै उपमहानगरपालिकाले ती घर धनीलाई सम्मान गर्न लागेको बताएका छन्।