कैलाली। राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजना सुरु भएको १२ वर्षपछि आयोजनाको मूल नहरबाटै पानी सञ्चालन भएको छ। जेठ ३१ गते साँझ मूल नहरबाट पठाएको पानी शाखा, प्रशाखा नहर हुँदै जेठ ३२ गते दिउँसो किसानको खेत खेतमा पुगेको छ।
आर्थिक वर्ष २०६७/६८ देखि निर्माण सुरु भएको आयोजनाले यसअघि मूल नहरको परीक्षण गरेको थियो। यस पटक मूल नहरबाट पानी ल्याई तीन वटै कुला प्रणालीमा ४५ क्युमेक्स पानी पठाइएको आयोजनाका निर्देशक केदारकुमार श्रेष्ठले जानकारी दिए। यी प्रणालीबाट १४ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ हुन्छ। श्रेष्ठका अनुसार लम्कीतिरको नहरमा पनि एक साताभित्रै पानी सञ्चालन गरिने छ, जहाँबाट छ हजार हेक्टर जमिनमा सिँचाइ हुनेछ।
यसअघि कर्णाली नदीबाट किसानको खेतमा पानी ल्याउन बनाइएको अस्थायी मुहानले बर्सेनि समस्या हुने गरेको थियो । कर्णालीमा बाढी बढेका बेला नदीबाट बाढी आएर खेत डुबाउँथ्यो भने बाढी घटेपछि कुलामा पानी सुकेर धान खेतीलाई पर्याप्त पानी पुग्दैनथ्यो। मूल नहरबाट पानी आएपछि किसान ढुक्क भएका छन्। जमरा कुलो जल उपभोक्ता संस्थाका अध्यक्ष मानवबहादुर चौधरी नहरबाटै पानी किसानको खेतमा पुगेपछि जोखिम घटेको र आनन्द बढेको बताउछन्। अब बाह्रै महिना नहरमा चाहे जति पानी ल्याउन सकिन्छ, बढी वर्षा भएको दिन नहरको ढोका बन्द गरी पानी कर्णालीमै बगाउने व्यवस्था भएकाले जोखिम घट्ने चौधरीको भनाइ छ ।
कैलालीमा ३८ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ गर्ने उद्देश्यले सुरु भएको आयोजनाको पहिलो चरण (२०६७/६८ देखि २०७४/७५) मा विश्व बैङ्कको लगानी १२ अर्ब ३७ करोड ७५ लाख रुपियाँ खर्च भइसकेको छ। दोस्रो चरण ९२०७४/७५ देखि २०८०/८१० मा १५ अर्ब ३२ करोड ४९ लाख रुपियाँ खर्च हुने छ । २७ अर्ब ७० करोड २३ लाख रुपियाँ लागत रहेको आयोजनामा १७ अर्ब ५६ करोड ७२ लाख रुपियाँ नेपाल सरकार, नौ अर्ब ९५ करोड ५१ लाख रुपियाँ विश्व बैङ्कको ऋण र १८ करोड रुपियाँ उपभोक्ता समितिको लगानी भइरहेको छ । आयोजनामा हालसम्म १८ अर्ब रुपियाँ खर्च भइसकेको आयोजनाले जनाएको छ । रानीजमरा कुलरियाबाट १४ हजार तीन सय हेक्टर सिँचाइ गर्न आठ हजार ८७५ मिटरको मूल नहर, दक्षिणतर्फको १०.६० किलोमिटर नहर निर्माण भइसकेको छ ।