धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले सांसद विकास कोष अन्तर्गत सांसदहरुलाई तीन करोड रुपैया बिनियोजन गरेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सांसद विकास कोष भनिने प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत हरेक निर्वाचन क्षेत्रका सांसदलाई तीन करोड विनियोजन गरेको हो।
यसअघि निकै आलोचित भएको सांसद विकास कोषको बजेटको बचाउ गर्दै सुदूर पश्चिमका अर्थमन्त्री नरेश कुमार शाहीले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संसद विकासका लागि बिनियोजन गरिएको रकम सांसदको व्यक्तिगत खातामा जम्मा हुने रकम नभएको बताए ।
अर्थमन्त्री शाहीले प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत बिनियोजन गरिएको बजेट सम्बन्धित प्रदेश सभा सदस्यको निर्बाचन क्षेत्रका योजनाहरुका लागि खर्च गरिने रकम भएको बताए । उनले यो रकम प्रदेश सभा सदस्यले आफूखुशी खर्च गर्न नपाउने बताए । यो रकम सांसदको व्यक्तिगत खातामा पनि जम्मा नहुने बताए।