कञ्चनपुर। कञ्चनपुरमा भारतीय नापी विभागको कर्मचारी भन्दै जमिन नापजाँच गरिरहदा पक्राउ परेका ५ जना भारतीयलाई प्रहरीले कागज गराएर छाडिएको छ।
शुक्रबार दिउँसो नेपाली प्रशासनसँग समन्वय नगरेरै कञ्चनपुरको भीमदत्त नगरपालिका ११ गड्डाचौकी भुजेलास्थित सीमावर्र्ती क्षेत्रमा अनाधिकृत रुपमा जमिन नापजाँच गरिरहेका थिए।नेपाली पक्षसँग समन्वयनै नगरी एकतर्फी रुपमा धमाधम नापजाँच गरिरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
उनीहरुलाई कागज गराएर हिजै (शुक्रबार) साँझ छाडिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भरतराज गिरीले बताए। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले नापजाँच गरिरहेका ती भारतीयलाई र उक्त विषयमा आवश्यक छानबिन भईरहेको बताएका थिए।प्रहरी निरीक्षक गिरीले उनीहरु दोधाराचाँदनी सुख्खा बन्दरगाह निर्माण स्थलसम्म पुग्ने पहूँच मार्गमा संलग्न रिद्धीसिद्धी कम्पनीमा कार्यरत कर्मचारी रहेको खुलेको बताए।
आगामी दिनमा नेपालतर्फ काम गर्दा समन्वय गर्ने ब्योहोराको कागज बनाएर नेपाल प्रहरीले पाँचै जनालाई भारतीय प्रहरीको जिम्मा लगाएको बताए। शुक्रबार बिहान साढे १० बजे कम्पनीका सर्भे मेनेजर तालेवर सिंहको नेतृत्वमा ५ जना कर्मचारी गड्डाचौकी क्षेत्रमा नाप जाँच गरिरहेको स्थानीयले देखेका थिए । सो समयमा स्थानीयले नाप जाँचको काम रोकाएर प्रहरीलाई खबर गरेका थिए। उनीहरुले दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहका लागि भारततर्फ निर्माणाधीन पहुँच मार्गको उचाई र दूरी पत्ता लगाउन गड्डाचौकीमा नापजाँच भइरहेको बताएका थिए। त्यसपछि प्रहरीले उनीहरुलाई थप अनुसन्धानका लागी पक्राउ गरेको थियो।