कञ्चनपुर। कञ्चनपुरमा महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) योगबहादुर पाल निलम्बित भएका छन्। आफ्नै महिला सहायक हवल्दारलाई कार्यस्थलमा दुव्र्यवहार गरेको आरोपमा उनी निलम्बनमा परेका हुन्।
महिला प्रहरीमाथि दुर्व्यवहार गरेको घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले शुक्रबार एसएसपी पाललाई निलम्बन गरेको हो । प्रहरी प्रधान कार्यालयले बिहीबार पाललाई निलम्बनका लागि मन्त्रालयमा पत्र पठाएको थियो ।केही दिनअघि महेन्द्रनगरस्थित प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप पछि उनलाई प्रहरी प्रधान कार्यालय तानिएको थियो।
पालले आफ्नै प्रहरी कार्यालयमा कार्यरत बिदा मागेकी एक महिला सहायक हवल्दारलाई दुव्र्यवहार गरेका थिए। घटनाबारे ती महिला हवल्दारले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा उजुरी दिएकी थिइन्। नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले गृहमन्त्रालयबाट उनलाई ६ महिना निलम्बन गरेर अनुसन्धान गर्न निर्देशन आएसँगै उनी निलम्बनमा परेको बताए। सहायक हवल्दारमाथि दुव्र्यवहार गरेको आरोप लागेपछि र उजुरीपछि एसएसपी पाल अनुसन्धानका लागि हेडक्वार्टर तानिएका थिए।
पालबाट पीडित महिला हवल्दार घर बिदा स्वीकृत गराएर बिदामा जान लागेकी थिइन्। बिदा स्वीकृत गरेर कार्यालय प्रमुख रहेका एसएसपी पाललाई जानकारी गराइएको थियो। त्यसपछि एसएसपी पालले सञ्चार सेटमै ती महिला हवल्दारलाई आफूलाई भेट्न पठाइदिनु भन्दै आदेश दिएका थिए। त्यसपछि ती महिला एसएसपी बसेको क्वाटरमा पुगेकी थिइन्। सो क्रममा एसएसपीले महिला हवल्दारलाई ‘तिमी मलाई मन प¥यो, आज गुड फ्राइडे मनाऔं’ भन्दै दुव्र्यवहार गरेको आरोप लागेको बताइएको छ।एसएसपीले यस्तो प्रस्ताव गरेपछि चकित बनेकी ती महिलाले प्रतिवाद गर्दै घटनाबारे ड्युटी अफिसरलाई जानकारी गराएकी थिइन्। पछि उनले प्रदेश प्रहरी कार्यालयमा उजुरी हालेपछि घटना छानबिन हुने अवस्थामा आइपुगेको थियो। यसबारेमा थप अनुसन्धान भैरहेको छ।