धनगढी : धनगढीमा मृत भेटिएकी डाक्टरका प्रेमी सन्दिप भट्टराई पुर्पक्षका लागी कारागार चलान भएका छन् । गत जेठ ४ गते आफ्नै कोठामा मृत भेटिएकी धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा।प्रसन्ना शाहको आत्महत्या दुरूतसाहन मुद्दामा डा.सन्दीप भट्टराईलाई पुर्पक्षका लागि कारागार चलाउन गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले सोमबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि भट्टराईलाई पुर्पक्षका लागि कारागार चलाउन गरिएको जानकारी दिए । सोही मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका धनगढीकै विकल केसी भने ५० हजार धरौटी बुझाएर धारेखमा छुटेका छन् ।
मृतक शाहको परिवारले प्रहरी कार्यालयमा पेश गरेको किटानी जाहेरीका आधारमा प्रहरीले माया मेट्रो अस्पतालमै कार्यरत डा. सन्दीप भट्टराई र धनगढीका विकल केसीलाई गत जेठ ६ गते पक्राउ गरेको थियो ।
कारागार चलान भएका भट्टराई र मृतक शाह प्रेम सम्बन्धमा रहेको पाइएको प्रहरीले जनाएको छ । डा.भट्टराईले विवाहको प्रस्ताव अस्वीकार गर्दा शाहले झुन्डिएर आत्महत्या गरेको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका थिए