धनगढी : कैलाली कारागारभित्र मदिरा सेवन गरेर झगडा गर्ने १६ जना कैदीबन्दीहरुलाई अन्यत्र सारिएको छ । गत २२ जेटमा मदिरा सेवन गरी झडप गरेपछि उनिहरु १६ जनालाई विभिन्न कारागारमा सारिएको छ।
कारागारका निमित्त जेलर लालबहादुर बोगटीले कपिलवस्तु, नवलपरासी, चितवन, महोत्तरी, सप्तरी र सुनसरीका कारागारमा २(२ जना, पर्सा कारागारमा ३ जना र सिराह कारागारमा एक जनालाई स्थानान्तरण गरिएको जानकारी दिए।
उनका अनुसार कैदीबन्दीहरुबीच आपसी विवादमा झडप भएपछि उनीहरुलाई अन्य कारागारमा सरुवा गरिएको हो । निमित्त जेलर बोगटीका अनुसार उक्त घटनालाई लिएर सुरक्षातर्फका प्रमुख र सहायक प्रहरी अधिकृतलाई समेत हटाइएको छ।
सुरक्षा प्रमुख प्रहरी नायब निरीक्षक चरन बुढथापालाई हटाएर उनको ठाउँमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक राजेन्द्र कुमाल आएका छन्।
यस्तै प्रहरी सहायक निरीक्षक योगेन्द्र बोहरालाई हटाएर उनको ठाउँमा दत्तुराम कोलीलाई जिम्मेवारी दिइएको छ। कैलाली कारागारले कैदीहरुबीच झडप भएपछि आउटडोर चौकीदार र केही कर्मचारीको जिम्मेवारी समेत हेरफेर गरेको जनाएको छ।