धनगढी : धनगढी उपमहानगरपालिकाले निर्माण गरेको सेवाग्राही प्रतिक्षालयको उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रतिक्षालयको उद्घाटन गरेका हुन्। उपमहानगरपालिकाको २२ लाख ५१ हजार तीन सय ६१ रुपैयाको लागतमा निर्माण गरिएको प्रतिक्षालयमा पानी, डिजिटल नागरिक वडापत्र, एसी, टेलिभिजन र निःशुल्क इन्टरनेटको व्यवस्था गरिएको छ।
सुविधा सम्पन्न प्रतिक्षालयमा फर्निचर लगायतका सेवाका लागि उपमहानगरपालिकाको थप ६ लाख खर्च भएको बताइएको छ। मुख्यमन्त्री शाहले घाममा बस्दै आएका सेवाग्राहीका लागि प्रतिक्षालय प्रविधिमैत्री रहेको बताए। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले चालु आर्थिक वर्षको बजेटबाट प्रतिक्षालय निर्माण गरिएको बताए। उनले भने, ‘नागरिक सर्वोत्तम हुन्। धनगढीका नागरिकलाई हामीले टाउकोमा राखेर हिड्छौ। हिजो रुखमुनी सेवाग्राही बस्थे। सेवाग्राहीले आत्मसम्मान महसुस गरुन। खानेपानी, लगायतका सेवा दिएका छौ।
अझै थप गर्दैजाने छौ। प्रतिक्षालयमा नै सेवा दिने काम गर्नेछौ।’ धनगढी उपमहानगरपालिकाले प्रदेशका अन्य स्थानीय तहहरुलाई पनि सन्देश दिन चाहेको नगरप्रमुख हमालले बताए। नगर उपप्रमुख कन्दकला कुमारी रानाले सेवाग्राका अपाङ्गमैत्री प्रतिक्षालय निर्माण गरिएको बताइन्। उनले भनिन्, ‘सेवाग्राहीले सास्ती पाउदै आएका छन्। उनीहरुका लागि प्रतिक्षालय निर्माण गरेका हौ। बस्नका लागि सुविधायुक्त प्रतिक्षालय बनाएका हौँ।’