डडेल्धुरा : अजयमेरु गाउँपालिकाले कृषि एम्वुलेन्स सञ्चालनमा ल्याएको छ । कृषि तथा पशुजन्य उपजको ढुवानीका लागि गाउँपालिकाले एक जिपलाई एम्बुलेन्स बनाई सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले एक सुचना जारी गर्दै कृषि तथा पशुजन्य उपजहरुको ढुवानी गर्न भाडा दर पनि सार्वजनिक गरेको छ ।
गाउँपालिकाको कृषि एम्वुलेन्स सेवा व्यवस्थापन तथा सञ्चालन समितिको बैठकको निर्णयले कृषि तथा पशुजन्य उत्पादित वस्तुहरुको ढुवानी गर्न गराउनका लागि गाउँपालिका भित्र वा जिल्ला सदरमुकामसम्म प्रति कुन्टल ढुवानी गर्न एक सय रुपैया, व्यापारी तथा जिल्ला बाहिरको हकमा प्रति कुन्टल प्रति किलोमिटर पक्की सडकमा १० रुपियाँ र कच्ची सडक प्रतिकुन्टल प्रति किलोमिटर १५ रुपियाँ तोकेको छ ।
गाउँपालिकाको सुचना अनुसार ढुवानी गराउने कृषक तथा व्यापारीहरुले कम्तिमा एक दिन अगाडि नै सम्पर्क गर्नुपर्ने छ । गाउँपालिका बाहिर वा व्यापारीहरुले ढुवानी गराउँदा सवारी चालकको खाना तथा आवासको व्यवस्था गर्नुपर्ने सुचनामा उल्लेख छ ।
एम्बुलेन्स सञ्चालनले गाउँपालिका भित्र उत्पादित कृषि तथा पशु उपजले ढुवानीमा सजहता ल्याउनुका साथै किसानको आम्दानीमा बृद्धि हुने अपेक्षा लिईएको गाउँपालिका अध्यक्ष उमेश भट्ट विकासले बताए । ढुवानीमा समस्या हुदा बजार नपाउने कृषि तथा पशु उपजले बजार पाउने विश्वास लिईएको उनको भनाई छ ।