कैलाली। गेटामा मेडिकल विश्वविद्यालय स्थापना गर्न सरकारलाई दवाव दिन आज बिहीबार अत्तरियालगायत कैलालीको गोदावरी नगर क्षेत्र बन्द गरिएको छ । शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिको आह्वानमा आज अत्तरिया बजार बन्द गरिएको हो।
संघर्ष समितिको निर्णय अनुसार गोदावरी नगर क्षेत्र बन्द गर्ने कार्यक्रम अन्तरगत आज बिहान ८ देखि साँझ ६ बजे सम्म अत्तरिया बजार व्यवसाय बन्द गरिएको छ। संघर्ष समितिका सचिव धर्म सिह कुुँवरले बन्दकर्ताले बजार बन्द गराएपनि सवारी साधन भने आंसिक रुपमा संचालनमा रहेको बताएका छन । संघर्ष समितिले सरकारले २०७९ माघ २९ गतेका दिन मन्त्रिपरिषद र जेठ ५ गते नीति तथा कार्यक्रममा पास गरे अनुसार गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालन हुनुपर्ने माग गर्दै आइरहेको छ ।
सरकारले जेठ १५ गते संसदमा पेश गरको आगामी आर्थिक बर्षको बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर १ सय शैय्याको मात्रै अस्पताल संचालन गर्ने घोषणा गरेपछि संघर्ष समितिले आन्दोलनका कार्यक्रम सुुरु गरेको थियो । उनीहरुले गेटामा ६ सय शैय्याको अस्पताल सहित स्वास्थ्य विश्वविद्यालय स्थापना हुनुुपर्ने माग गर्दै आइरहेका छन। संघर्ष समितिले आज साँझ ५ बजे अत्तरिया चौराहाबाट बाजागाजा सहित यसक्षेत्रका सम्पूर्ण जनसमुदायको उपस्थितिमा गेटा मेडिकल विश्व विद्यालयको बोर्ड लगाएर सडकबाटै मेडिकल विश्वविद्यालय जनघोषणा गर्ने कार्यक्रम पनि राखेको छ।
‘सरकारले आफैले गरेको निर्णयबाट पछि हट्दै सुदूरपश्चिमका जनताहरुको स्वास्थ्य माथि खेलवाड तथा अपहेलना हुने गरी बजेट मार्फत् गरिएको घोषणा हामीलाई कुनै हालतमा मान्य हुने छैन । पटक पटकको जानकारी, अन्तरक्रिया, छलफल र विरोध लगायतका कार्यक्रममहरु गर्दा समेत मागप्रति सरकारले ध्यान नदिएको भन्दै कडा संघर्षका कार्यक्रममा जान बाध्य भएका छौं’, संघर्ष समितिका संयोजक लोकराज पाण्डेद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।विज्ञप्तिमा अगाडि भनिएको छ, ‘बन्द समयावधिभित्र यस क्षेत्रमा रहेका निजि तथा सरकारी विद्यालयहरु, व्यापार, व्यवसाय, उद्योग तथा कलकारखाना लगायतका सम्पूर्ण कार्यालयहरु बन्द गरी आन्दोलनलाई सहयोग गरिदिन हुन यस क्षेत्रका सम्पूर्ण महानुभावहरुलाई यो सघर्ष समिति विनम्र अनुरोध गर्दछ ।’