धनगढी। सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रममाथि प्रदेश सभामा आजदेखि छलफल सुरु हुँदैछ। आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममाथि छलफलका लागि आज प्रदेश सभाको बैठक बोलाइएको छ ।
छलफल ३ बजेदेखि शुरू हुने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए । प्रदेश प्रमुख देवराज जोशीले बुधबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल हुने भएको हो। कृषिलाई प्राथमिकता राखेर पेश भएको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेश सभा सदस्यहरूले भाग लिने छन् ।सामान्यतया बजेट ल्याउनभन्दा १५ दिन अघि प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने हुन्छ ।
असार १ गते बजेट सभामा पेश हुनेछ। सुदूरपश्चिम प्रदेश सरकारले व्यावसायिक कृषि गर्ने कृषकलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । सरकारले प्रदेश कृषि व्यवसाय प्रवर्द्धन कोष स्थापना गर्ने, कैलालीको अत्तरियामा चिडियाखाना निर्माण गर्ने,सुदूरपश्चिम प्रदेश सरकारले अछाम, बैतडी, कैलाली र कञ्चनपुरमा बहुउद्देश्यीय रगंशाला निमार्ण हुने नीति तथा कार्यक्रममा उल्लेख छ ।