डोटी। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खप्तडलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउने आश्वासन दिएका छन्। आजदेखि सुरु भएको तीन दिने प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो बाचा गरेका हुन् ।प्रधानमन्त्री दाहालले सम्मेलन उद्घाटन गर्दै खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउने आश्वासन दिए।
‘खप्तड आर्थिक विकासको केन्द्र र पर्यटन विकासको केन्द्र बन्छ, खप्तड क्षेत्रलाई पर्यटन मैत्री आध्यात्मिक केन्द्रको रुपमा विकास गर्छौँ,’ उनले भने। सुदूरपश्चिम प्रदेशको विकासको लागि आफू प्रतिबद्ध रहेको समेत उनको भनाइ थियो । आध्यात्मिक केन्द्र निर्माणका लागि लगानी गर्न रामदेव र आचार्य बालकृष्ण पनि इच्छुक रहेको प्रधानमन्त्रीले बताएका थिए। उनले खप्तड विकास कोष वा प्रतिष्ठान बनाउने विषयमा पनि छलफल गर्ने बताएका थिए। प्रधानमन्त्रीले उद्घाटन गरेको सम्मेलनमा योगगुरु रामदेव, आचार्य बालकृष्ण, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रदेश प्रमुख देवराज जोशी, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद लगायत उपस्थित थिए। रामदेव पश्चिमी सीमा नाका गड्डाचौकी भएर धनगढीबाट हेलिकप्टरमा खप्तड पुगेका थिए।
खप्तडलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा मंगलबारबाट आध्यात्मिक सम्मेलन सुरु भएको हो। भू–स्वर्गका रुपमा चिनिने खप्तडलाई अन्तर्राष्ट्रियस्तरमा चिनाएर पर्यटन विकास गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलन तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ। सम्मेलनमा स्वामी रामदेवले ध्यान र प्रवचन दिने कार्यक्रम पनि तय भएको छ। अन्तर्राष्ट्रियस्तरमा खप्तडको प्रचारप्रसार हुने र यसले यहाँको पर्यटन विकास हुने अपेक्षा गरिएको छ।मंगलबार सम्मेलनको उद्घाटन गरेर प्रधानमन्त्री दाहाल काठमाडौँ फर्किएका हुन्।
यस्तै भारतीय योगगुरु रामदेवले आफू खप्तडको विकास र प्रचार तथा प्रवर्द्धनको लागि ब्राण्ड एमबेस्डर बन्न इच्छा राखेका छन् । खप्तडमा आज (मंगलबार)देखि सुरु भएको प्रथम खप्तड अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै धार्मिक गुरु रामदेवले यस्तो इच्छा व्यक्त गरेका हुन् । ‘निःशुल्क खप्तडको ब्रान्ड एम्बेस्डर बन्छु,’ उनले भने, ‘यहाँका हरेक काममा सहयोग गर्न चाहन्छु ।’ यसैबीच रामदेवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शान्ति र क्रान्तिका नायक भएको समेत बताए । यसैगरि सम्मेलनमा सहभागी भएका आचार्य बालकृष्णले जीवनमा एक पटक खप्तड हेर्न जानुपर्ने बताए । उनले खप्तड क्षेत्रको थप प्रवद्र्धन गर्न आवश्यक रहेकोसमेत बताए ।