कञ्चनपुर।कञ्चनपुरको कलुवापुर सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीय आन्दोलित बनेका छन्। कञ्चनपुरको कलुवापुर–बेलौरी सडकखण्ड निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेको भन्दै मंगलबार बिहानैदेखि स्थानीय आन्दोलित भएका हुन्। उनीहरुले कलुवापुरमा सडक अवरोध गरेका छन्।
कलुवापुर बजारका व्यवसायीसहितका स्थानीयले ठेकेदारको लापरबाहीलाई पूर्वाधार विकास कार्यालयले कावार्ही नगरेको बताएका छन्। उनीहरुले ठेकेदार र कार्यालयको विरोध गर्दै स्थानीय आक्रोशित हुँदै आन्दोलनमा उत्रिएका छन् । कलुवापुरका स्थानीय दानबहादुर बोहराले ठेकेदार कम्पनीले लापरबाही गर्दा स्थानीय बाध्य भएर आन्दोलनमा उत्रिएको बताए। उक्त सडक कालोपत्रेका लागि सन्तोषी थेगिमले २० साउन ०७८ मा ठेक्का सम्झौता भई १९ साउन ०८० मा सम्पन्न हुँदासमेत काम पूरा गर्न सकेको छैन।
उक्त सडक कालोपत्रे गरेको निर्माण कम्पनीले डेढ वर्षदेखि ६५ लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ। पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी हेमराज भट्टले सडक अवरोध हटाउने बताए। स्थानीयले अघि सारेका मागका विषयमा छलफल गरिने बताए। उनका अनुसार तीन किलोमिटर सडक डबललेन सहित १० करोड ३५ लाख लागतमा निर्माणको ठेक्का पाएको हो। यसअघि पनि कलुवापुर–बेलौरी सडकखण्ड कालोपत्रेको माग अघि सारेर कलुवापुर, बन्साह, कालागौडी, बेलौरी क्षेत्रमा पटकपटक आन्दोलन हुँदै आएको थियो। कालागौडी पुलदेखि चाँन्देवसम्म झन्डै पाँच किलोमिटर सडकखण्ड निकुञ्जले कालोपत्रे गर्न नदिएको निर्माण व्यवसायीको भनाइ रहेको छ।