कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलन गर्दै बन्द गराएका छन्। गणतन्त्र दिवसका दिन राष्ट्रपति र प्रधानमन्त्रीको तस्विरमा जुत्ताको माला लगाउँदै जुत्ताले हिर्काउने राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्तालाई पक्राउ गरेपछि आज सोमबार राप्रपाले महेन्द्रनगरमा बन्द गरेको हो।
१५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको तस्विरमा जुत्ताको माला लगाएर जुत्ताले नै हिर्काउने राप्रपाका जयकिशन बोहरालाई आइतबार प्रहरीले उनकै घरबाट पक्राउ गरेको थियो ।राप्रपाले पत्रकार सम्बेलन गरेर पक्राउ परेका बोहरालाई सोमबार १२ बजेसम्म रिहा नगरिए महेन्द्रनगर बन्द गर्ने बताएको थियो। सोही अनुसार राप्रपाले महेन्द्रनगरमा आक्रामक बन्द गराएको हो ।घोषित बन्दका क्रममा बन्दकर्ताहरुले साँझ पाँच बजेसम्म सवारीसाधनका चावी थुतेर गाडी ठप्प पार्ने र ठाउँ–ठाउँमा टायर बालेर प्रदर्शन पनि गरेका थिए ।
राप्रपा भीमदत्त नगर कार्य समितिका अध्यक्ष करन पालले बन्दका क्रममा थुतिएका चावी सवा पाँच बजेपछि फिर्ता गरिएको पनि जानकारी दिए। एक पटक पक्राउ गरी सहमतिपछि छाडिएका बोहरालाई फेरि पक्राउ गरेपछि आन्दोलन गर्नुपरेको पालको भनाई छ।यस्तै राप्रपाले मंगलबार पनी बजार बन्द गर्ने जनाएको छ । स्थानीय प्रशासनले भने बन्दकर्ताहरुलाई संयम अपनाउन आग्रह गरेको छ। यता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले ‘अभद्र र अशोभनीय तरिकाले राष्ट्रपति र प्रधानमन्त्रीको तस्विरमा जुत्ताको माला लगाउने र जुत्ताले हान्ने व्यक्तिलाई पक्राउ गरिएको बताए । उनले सबैमा संयम अपनाउन आग्रह गरेको बताएका छन् ।