कैलाली। शनिबार कैलालीको गेटामा सडक बहस गरिएको छ। सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समिति गठननै गरेर गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै सडक बहस गरिएको हो ।
जेठ १५ मा अर्थमन्त्री डा. प्रकाशशरण महतले गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अघि बढाउने र १०० शय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरेपछि त्यसको बिरोध भैरहेको छ। सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेपनि बजेटमा त्यसलाई कार्यान्वयन नगरिएको भन्दै संघर्ष समिति आन्दोलित छ।
सडक बहसमा बोल्ने बक्ताहरुले सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनमा ल्याउन जोड दिएका छन् । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले गेटामा विश्वविद्यालय बनाउने भनेर सरकारले नै निर्णय गरेर अहिले पन्छिन नमिल्ने बताए। उनले २०६३ सालदेखि नेताहरुलाई गेटामा मेडिकलको विषयमा माग गर्दै माला लगाउदा पनि माग पुरा नहुनु विडम्बना भएको बताए।
‘नेताहरुलाई सुदूरपश्चिमको विकासका लागि बिन्तिपत्र चढाउँदा चढाउँदै एउटा पुस्ता नै भइसकेको छ’ उनले भने ‘सुदूरपश्चिमको सेती प्रोजेक्ट कहिले बन्छ ? महाकाली करीडोर कहिले बन्छ ? सेती लोकमार्ग कहिले बन्छ ? पञ्चेश्वर कहिले बन्छ ? कर्णालीको त कुरै गर्न छोडीसकेका छौ ।’उनले गेटा विश्वविद्यालयका लागि अत्तरियाले मात्रै आन्दोलन गरेर सफल हुन नसक्ने भएकाले यसका लागि सूदूरपश्चिम नै उठ्न आवश्यक रहेको बताए । उनले सरकारले गेटामा कहिले मेडिकल कलेज, कहिले विश्वविद्यालय भनेर अल्झाउने काम गरेको बताए । उनले गेटामा मेडिकल कलेज बनाउका लागि सशक्त आन्दोलनको आवश्यकता रहेको बताए ।
हमालले जनताका प्रतिनिधि र यहाँका स्थानीयले चाह्यो भने गेटामा ६ महिनामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न सकिने ठोकुवा गरे । उनले मेडिकल विश्वविद्यालय स्थापनाका लागि सुदूरपश्चिमबाट प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले राज्यबाट प्राप्त स्रोतबाटै राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न सकिने बताए। प्रतिनिधि सभाका सदस्यले एक वर्षमा ५ करोड पाउने बजेटमा उल्लेख छ। यहाँबाट १६ जना प्रतिनिधि सभा सदस्य छन्। यसबाट वार्षिक ८० करोड हुन्छ।
पाँच वर्षमा यो चार अर्ब हुन्छ। त्यस्तै प्रदेश सभा सदस्यले वार्षिक ९६ करोड पाउने गर्छन्। ३२ प्रदेश सभा सदस्य छन्। यसबाट ५ वर्षमा चार अर्ब ८० करोड हुन्छ। उपमहानगरपालिकाले एक वर्षमा ३० लाख पाउँछ। पाँच वर्षमा एक करोड ५० लाख हुन्छ। त्यस्तै ३३ नगरपालिकाको पाँच वर्षमा ३३ करोड हुन्छ भने ५४ गाउँपालिकाका प्रतिनिधिले पाँच वर्षमा २७ करोड प्राप्त गर्छन्।यस्तो सुविधालाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न छुट्याउने हो भने १० अर्ब बजेट संकलन हुन्छ। यस हिसाबबाट पनि गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न कुनै समस्या हुँदैन्।
चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले गेटामा प्रतिष्ठान बनाएर १ सय बेडको मात्रै अस्पताल बनाउने बिषयमा आफ्नो आपत्ती रहेको बताए । उनले सुदूरपश्चिमलाई सरकरले हेर्ने दृष्टिकोण नै संकुचित भएको बताए । उनले गेटामा विश्वविद्यालय बनाउनको लागि आन्दोलनका कार्यक्रमलाई अझै व्यापक बनाउनु पर्ने बताए । बरिष्ठ अधिवक्ता डा. केदार चन्द्र भट्टले जुनसकै हालतमा पनि गेटामा मेडिकल विश्वविद्यालय बन्नुपर्ने बताए । ‘विश्वविद्यालय भनेको स्वास्थ्य विज्ञानको सवालमा सबैभन्दा उपल्लो तह हो’ उनले भने ‘अहिले सरकारले हामीलाई स्वास्थ्य चौकी दिएर ढाट्ने ?’ उनले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संसदले पनि पास गरिसकेको बताए ।
‘शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई संसदले नीति र कार्यक्रमका रुपमा पास गरिसकेको छ’ उनले भने ‘बजेटको २४२ बुदामा प्रतिष्ठान बनाउने भनेर आयो । मन्त्रिपरिषदले गरेको निर्णय संसदले नीति तथा कार्यक्रमा पास गरेर बजेटमा यो कसरी राखियो ? प्रतिष्ठान भनेर कुन हौसियतले राखियो ?’ उनले क्षेत्र नम्बर ४ का सांसद विर बहादुर बलायरले कुन हौसियतमा गेटामा विश्वविद्यालय चाहिदैन भनेर बोलेको भनेर प्रश्न गरे । गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले गेटामा बजेट व्यक्तव्यमा मेडिकल कलेज पूर्वाधार समिति पनि खारेर भनेर लेखिएर आएकाले झन अन्योल थपेको बताए । उनले आगामी आर्थिक बर्षको लागि भनेर अझै पनि ११ वटा संरचना निर्माणको काम भरखरै सुरु भएकाले पूर्वाधार समितिनै खारेज भए ति संरचना के हुने भन्ने अन्योल थपेको बताए। उनले छिन छिनमा फरक फरक ढंगका कुरा आउने गरेकाले अहिलेको परिस्थिति बनेको बताए ।
‘यसअघि पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले धनगढीको कार्यक्रममा विश्वविद्यालय सम्भव छैन प्रतिष्ठान तर्फ लागौ है भनेर बोलेअनुसार प्रतिष्ठानको विधेयक अगाडी बढ्यो । शिक्षाले ल्याएको त्यो विधेयक अर्थमै रोकियो’ उनले भने ‘मंसिरमा अर्को सरकार आयो। त्यसले माघ २९ गते विश्वविद्यालय बनाउने निर्णय ग¥यो । जसको विधेयक पनि शिक्षाबाट हुँदै अर्थमन्त्रालयमा थन्किएको छ ।’ उनले अहिले आएर बजेटमा फेरी अर्को कुरा आउँदा अन्योल भएको बताए। सडक बहसमा मालाखेती अस्पतालका अध्यक्ष डा. नर बहादुर मौनी, संघर्ष समितिका संयोजक लोक राज पाण्डे, सह संयोजक आनन्द भट्ट, लगायत सहभागिहरुले आफ्ना धारणा संगै वक्ताहरुलाई प्रश्न राखेका थिए ।
कार्यक्रमको संचालन संघर्ष समितिका सचिव धर्म सिह कुँवरले गरेका थिए । ६०० शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यसहित गेटामा निर्माण भएको संरचना साढे दुई वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । गेटा मेडिकल कलेज सञ्चालनका लागि २९ वटा संरचना तयार भएको छ भने ३ वटा निर्माणाधीन छ ।पूर्वाधार विकास समितिले संरचना निर्माण गर्दा सरकारको ५ अर्ब ४० करोड रुपैयाँ खर्च भइसकेको जनाएको छ । तीमध्ये १२ वटा संरचनाको काम आगामी असारमा सम्पन्न हुने बताइएको छ । यस्तै गेटा मेडिकल कलेजलाई प्रतिष्ठानका रुपमा अघि बढाउने निर्णयको यति बेला चौतर्फी बिरोध भैरहेको छ। विहीबार बिहान कैलालीको अत्तरियामा चक्काजाम गरिएको छ भने मुख्यमन्त्री कमल बहादुर शाह र कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ। यस्तै संर्घष समितीले थप आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।