धनगढी। नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीलाई खादा लगाउने डिएसपीको सरुवा भएको छ। टीकापुर हत्याकाण्डमा दोषी ठहर भई राष्ट्रपतिबाट आममाफी पाएका चौधरीको स्वागत र खादा लगाएको आरोप लागेका डिएसपीको सरुवा भएको हो।
इलाका प्रहरी कार्यालयको इन्चार्ज रहदा राम्रो काम गरेको भन्दै ख्याति कमाएका तर अस्ति रेशमलाल आउँदा हतारहतार गएर ‘एकदम खुसी लाग्यो’ भन्दै खादा लगाउने डिएसपी उद्दबसिंह भाटको शुक्रबार सरुवाको भएको हो। भाटले पनि थारुको सम्मान गरेको भन्दै आफ्नो सरुवा गरिएको बताएका थिए। उद्धव सिंह भाटलाई इलाका प्रहरी कार्यालय टिकापुरबाट विशेष सुरक्षा गण सुनवल तानिएको छ।
उनीसहित नेपाल प्रहरीका २ प्रहरी उपरीक्षक (एसपी) र २ डीएसपीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार एसपी काजीकुमार आचार्य र विनोद सिलवालको सरुवा भएको हो। कार्यालयका अनुसार प्रहरी नायक उपरीक्षक (डीएसपी) रविन्द्र गुरुङलाई गौतमवुद्ध विमानस्थल भैरहवाबाट प्रहरी वृत सिंहदरबार तानिएको छ।
यस्तै तुलसी अर्याललाई काठमाडौँ उपत्यका विशेष सुरक्षा प्रहरी गणबाट इलाका प्रहरी कार्यालय टीकापुर पठाइएको छ। नेपाल प्रहरी अंग रक्षक गण नक्सालमा कार्यरत एसपी आचार्यलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको जिम्मेवारी दिइएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट एसपी सिलवाललाई अपराध अनुसन्धान विभाग नक्साल सरुवा भएको छ ।