धनगढी। शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सघर्ष समितिले भोलि गेटामा सडक बहस गरिएको छ । सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेपनि बजेटमा त्यसलाई कार्यान्वय नगरिएपछि संघर्ष समितिले आन्दोलनका कार्यक्रम अन्तरगत सडक बहस गरिएको हो ।
सडक बहसमा गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक हेमराज पुजारा लगायत चिकित्सक र सरोकारवाला निकायको सहभागिता रहेको सघर्ष समितिका सह–संयोजक आनन्द भट्टले बताएका छन । उनले बिहान ८ बजेदेखि शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको गेट अगाडी सडकमा बहस कार्यक्रम संचालन गरिएको बताए ।
सघर्ष समितिको शुक्रबार बसेको बैठकले आइतबार जिल्ला प्रशासन कार्यालय कैलाली अगाडी बिहान साढे १० देखि ११ बजे सम्म धर्ना दिने निर्णय समेत गरेको छ । सघर्ष समितिले शुक्रबार आन्दोलनका कार्यक्रम अन्तरगत सुदूरपश्चिमका मुख्यमन्त्री र जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएको थियो ।
समितिले गेटामा २०७९ साल माघ २९ को मन्त्रिपरिषद्को निर्णय अनुसार शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गरेर ६ सय सय्याको अस्पताल संचालन गरिनु पर्ने, शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन सम्वन्धि विधेयक चालु संसदको अधिवेशनमा ल्याउनु पर्ने लगायतका माग राख्दै आन्दोलनका कार्यक्रम गर्दै आइरहेको छ ।
सरकारले माघ २९ को मन्त्रिपरिषद्बाट शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेर जेठ ५ गते नीति तथा कार्यक्रममा पनि शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना बताएको थियो । तर, जेठ १५ गते आर्थिक बर्ष २०८०/८१ को बजेटमा भने गेटामा दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर १ सय सैय्याको अस्पताल संचालन गर्ने भनेपछि त्यसको विरोधमा सघर्ष समितिले आन्दोलनका कार्यक्रम गर्दै आइरहेको छ ।