काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ। शुक्रबार बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय सचिवहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोकिएको हो ।
लेखराज भट्टलाइ नेकपा एमालेले कर्णाली प्रदेशको इन्चार्जमा पठाएको छ। नेकपा एमालेले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन हेरफेर गर्दै लेखराज भट्टलाइ कर्णाली प्रदेशको इन्चार्जमा पठाएकोे हो । साथै, सुदूरपश्चिम प्रदेशको इन्चार्जमा भने सचिव छविलाल विश्वकर्मालाइ पठाएको छ । यसैगरि, बागमती प्रदेशबाहेक अन्य ४ प्रदेशको इन्चार्ज समेत तोकिएको छ ।
कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव रघुवीर महासेठ, मधेशको योगेश भट्टराई, गण्डकीको गोकर्ण विष्ट र लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव पद्मा अर्याललाई दिइएको छ। शुक्रबार बसेको सचिवालय बैठकले उपाध्यक्षहरुलाई विभागीय प्रमुख र सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो। एमालेले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्षलाई पार्टीका ३२ वटा विभागको संयोजन गर्ने जिम्मेवारी दिएको छ।
योजना तथा नीतिसम्बन्धी विभागको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नेछन् भने पूर्वाधार र विकास निर्माणसम्बन्धी विभागको नेतृत्व उपाध्यक्ष सुरेन्द्र पाण्डे, कृषि तथा उद्यमशीलता सम्बन्धी विभागको नेतृत्व रामबहादुर थापा बादल र सामाजिक विकाससम्बन्धी विभागको नेतृत्व अष्टलक्ष्मी शाक्यले गर्नेछन् । यस्तै, मानव स्रोतसम्बन्धी विभागको नेतृत्व उपाध्यक्ष युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाहसम्बन्धी विभागको नेतृत्व सुवास नेम्वाङ र संगठन प्रशिक्षण र प्रचारसम्बन्धी विभागको नेतृत्व उपाध्यक्ष विष्णु पौडेललाई तोकिएको छ । एमालेले संगठन विभाग प्रमुखमा काशिनाथ अधिकारीलाई जिम्मा दिएको छ भने प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी राजेन्द्र गौतमले पाएका छन् ।