धनगढी। कैलालीको गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी र मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितीले गेटामा मेडिकल विश्वविद्यालय बनाउने निर्णयबाट सरकार पछि हट्न नहुने भन्दै कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल र मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापनपत्र बुझाएको हो।
गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितले उक्त माग राख्दै आन्दोलन गरिरहेको छ ।गेटामा मेडिकल विश्वविद्यालयको ठाउँमा प्रतिष्ठान र एक सय शय्याको अस्पताल सञ्चालन गर्न खोजेकोले यसतर्फ सुदूरपश्चिम सरकारले ध्यान दिनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको हो। संघर्ष समितिका संयोजक लोक राज पाण्डेद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा नेपाल सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिएको बजेटमा गेटामा स्थापना गर्ने भनिएको १०० शैयाको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रति घोर विरोध रहेको उल्लेख छ।
‘२०७९ साल माघ २९ को मन्त्रिपरिषद्को निर्णय र सम्माननीय राष्ट्रपति ज्यूले जेठ ५, २०८० का दिन संघीय ससदमा प्रस्तुत आव २०८०/८१ को नीति तथा कार्यक्रममा गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने भन्ने कुरा उल्लेख भएको हो’ ज्ञापन पत्रमा भनिएको छ ‘तत्पश्चात् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयकको मस्यौदा तयार गरि सकेको कुरा यहाँलाई विदितै छ ।
तर मेडिकल माफिया र भ्रष्टाचारी नियतका राजनीतिकर्मीहरुको गठजोडले यो कामलाई विफल पार्ने काम भएको छ ।’ज्ञापन पत्रमा आम सुदूरपश्चिमबासी जनताहरुको चाहना अनुसार २०७९ माघ गते १० को निर्णयलाई यथासिघ्र कार्यन्वयनमा ल्याउन ध्यानाकर्षण गरिएको छ ।उक्त ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शाहले आफ्नो तर्फबाट हुने सक्दो प्रयास गर्ने बताए। संघर्ष समितिका संयोजक लोकराज पाण्डेका अनुसार माग पूरा गर्नतर्फ सरकारले ध्यान नदिए सुदूरपश्चिम प्रदेशमा बन्दको घोषणा गर्ने तयारी रहेको छ ।