धनगढी। सुदूरपश्चिम प्रदेश बासीले गेटामा प्रतिष्ठान भन्दा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्नुपर्ने माग गरेका छन्। जेठ १५ मा अर्थमन्त्री डा. प्रकाशशरण महतले गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अघि बढाउने र १०० शय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरेका थिए।
गेटा मेडिकल कलेजलाई प्रतिष्ठानका रुपमा अघि बढाउने निर्णयको यति बेला चौतर्फी बिरोध भैरहेको छ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समिति गठननै गरेर आन्दोलन भैरहेको छ ।शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि बिभिन्न दबाव मुलक र आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ। विहीबार बिहान कैलालीको अत्तरियामा चक्काजाम देखी गरिएको र त्यसपछिका दिनमा बिभिन्न बिरोधका कार्यक्रम जारी राख्ने संघर्ष समितिले जनाएको छ।
गत फागुन १ गते बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेटा मेडिकल कलेजको निरीक्षण गर्दै मन्त्रिपरिषदले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा सञ्चालन गर्ने निर्णय गरेको बताएका थिए । उनले भनेका थिए, मेडिकल कलेज त बन्ने नै भयो। अब गेटालाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन क्याबिनेटले निर्णय गरेर सैद्धान्तिक र व्यवहारिक रुपले पनि अघि बढ्ने दाबी समेत गरेका थिए । जेठ ५ मा प्रतिनिधिसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेका थिए । तर अर्थमन्त्री डा. महतले गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अघि बढाउने निर्णयपछि त्यसको बिरोध र आलोचना भैरहेको छ।
यँहाका बासीन्दामा संघिय बजेटमा गेटा मेडिकल विश्वविद्यालयको बारेमा खासै चित्त बुझ्दो बजेट र कार्यक्रम आउन नसकेको भन्दै असन्तुष्टी बढेको छ। सम्बन्धीत बिषयका जानकारी तथा नाष्ट कलेज धनगढीका प्रबन्ध निर्देशक शिवहरि मुडभरीले सरकारको गलत निर्णय भएको बताए। उनले यसअघि बर्तमान प्रधानमन्त्रीले नै गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माण गछौँ भनेका थिए, तर अर्थमन्त्रीले प्रतिष्ठानका रुपमा अघि बढाउने कुरा निकै दुःखद भएको बताए। उनले कतै मेडिकल कलेज नै सञ्चालन नगर्ने नदिने शँका रहेको उनले बताए ।
यस्तैनागरिक समाजका अगुवा प्रमोद पाठकले पनि गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय विपरीत सरकारले प्रतिष्ठानको कुरा ल्याउनुमा आशंका व्यक्त गरेका छन् । उनले प्रधानमन्त्रीले क्याबिनेटबाट विश्वविद्यालय बनाउने भनेर निर्णय गरेको तर उनकै अर्थमन्त्रीले प्रतिष्ठान बनाउने भनेर बजेट घोषणा गरेको बताए । यो दुविधा बढाउने काम भएको भन्दै बनाउने नै भए विश्वविद्यालय बनाए राम्रो हुने धारणा राखे।
जसअनुसार बिहीबार विश्वविद्यालय निर्माणका लागि दबावमूलक कार्यक्रम गर्ने उद्देश्यले कैलाली उद्योग वाणिज्य संघमा छलफल भएको छ ।छलफलमा गेटालाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन एकताबद्ध भएर सरकारलाई दबाव दिने सहमति भएको छ । महासंघका प्रदेश अध्यक्ष वीरबहादुर साउदले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयबाट पछि हटेर सरकारले प्रतिष्ठानका रुपमा अघि बढाउने घोषणा गरेर प्रदेशबासीको चाहनामाथि प्रहार गरेको बताए । सो विषयमा सबै एकताबद्ध भएर अघि बढ्ने कुरा भएकोले अर्को चरणको छलफलबाट संघर्षका कार्यक्रम अघि सार्ने बताए ।सरकारले विश्वविद्यालय सञ्चालन गर्ने भनेपछि प्रदेशबासी उत्साहित भएको बेला प्रतिष्ठान स्वीकार्य नहुने कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले बताए ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयबाट सरकार पछि हटेकाले सबैले खबरदारी गर्नुपर्ने नेकपा एमाले कैलालीका अध्यक्ष दुर्गाप्रसाद जोशीले बताए । हिजो प्रधानमन्त्री स्वयंले मन्त्रिपरिषद्बाट स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेर फेरी प्रतिष्ठान बनाउने भनेर बजेट ल्याएको र प्रधानमन्त्रीले नै झुटो बोलिरहँदा देशको नागरिक भन्न लाज लाग्ने बताए । ६०० शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यसहित गेटामा निर्माण भएको संरचना साढे दुई वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । गेटा मेडिकल कलेज सञ्चालनका लागि २९ वटा संरचना तयार भएको छ भने ३ वटा निर्माणाधीन छ ।पूर्वाधार विकास समितिले संरचना निर्माण गर्दा सरकारको ५ अर्ब ४० करोड रुपैयाँ खर्च भइसकेको जनाएको छ । तीमध्ये १२ वटा संरचनाको काम आगामी असारमा सम्पन्न हुने बताइएको छ ।