धनगढी। सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले बजेट नल्याउन्जेलसम्म अनावश्यक भेटघाट नगर्न निर्देशन दिएका छन्।
बिहीबार बसेको नीति तथा योजना आयोगको बैठकमा मुख्यमन्त्री शाहले प्रदेश सरकारको बजेट नआउन्जेलसम्म बिभिन्न मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न र नगराउन निर्देशन, दिएका हुन् । प्रदेश सरकार मन्त्री,लोकसेवा आयोग,नीति तथा योजना आयोग,मन्त्रालयका सबै सचिव र मन्त्रालय मातहतका कर्मचारीहरूलाई आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य नहुन्जेसम्म योजना सम्बन्धी अनावश्यक भेटघाट निर्देशन दिए।
यस अगाडिका सरकारले बजेटको मुखमा अनावश्यक भेटघाट गर्नेहुँदा बजेट चलखेल हुने आरोप लागेकाले यसपटक त्यस्तो हुन नदिन मुख्यमन्त्री शाहले निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। प्रदेश सरकारले गत जेठ १३ गतेदेखि आगामी वर्षको बजेटका लागि प्रदेशसभामा छलफल गरिरहेको छ। प्रदेशको विकासका लागि स्पष्ट दृष्टिकोणसहितको कार्यक्रम र योजना बनाएर अघि बढ्नुपर्ने सुझाब दिइएको छ। सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको सिद्धान्त र प्राथमिकता प्रदेश सभाको बैठकमा प्रस्तुत गरेका थिए।
प्रदेश सरकारले गरिबी न्युनिकरण, स्वरोजगार सिर्जना, यातायात, सञ्चार, खानेपानी र विद्युतीकरण, शिक्षा, स्वास्थ्य, मानव विकास, मौलिक हकको कार्यान्वयन, संघीय सरकार र स्थानीय सरकारसँगको साझेदारीमा पूर्वाधार विकास र सेवा प्रवाह तथा सुशासन प्रवद्र्धनलाई प्राथमिकतामा राखेको छ। उनले समग्र सुदूरपश्चिम प्रदेशको विकासलाई ध्यानमा राखेर र खर्च गर्न सकिने कार्यक्रमलाई मात्र आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने बताए ।
सुदूरपश्चिमका दुर्गम क्षेत्रको विकासलाई बजेटले प्राथमिकता दिने मन्त्री शाहीले बताए। आगामी आर्थिक वर्षमा भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीति लगिने र कृषिमा उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने, सामाजिक क्षेत्रको विकास र सांस्कृतिक रुपान्तरण, गुणस्तर र दिगो पूर्वाधार विकास, सुशासन र सेवा प्रवाहमा सुधार, संघियताको सवलिकरण गर्ने उद्देश्य रहेको बताए । यस्तैशिक्षा, स्वास्थ्य, मानव विकास लगायतका सूचकांकमा पछाडि परेका जिल्लाहरु सञ्चालन हुने कार्यक्रमहरूलाई प्राथमिकता दिने जलवायु परिवर्तनले निम्त्याएको असरलाई न्यूनिकरण र अनुकुलनका कार्यक्रमहरुलाई प्राथमिकता दिइने बताएका छन् ।


