धनगढी : टिकापुर घटनाको मुख्य योजनाकारको अभियोगमा जेल जिवन बिताइरहेका रेशम चौधरी सरकारबाट आम माफी पाएसंगै कैलाली लगायतका बिभिन्न क्षेत्र तथा गाउँमा पुगिरहेका छन् । चौधरी आगामी निर्वाचनमा नागरिक उन्मुक्तीले देशको नेतृत्व गर्ने गरी अगाडी बढिरहेको दावी गरिरहेका छन् । चौधरीले बिभिन्न कार्यक्रम तथा भेटघाटमा सहभागी हुन सरकारी गाडी प्रयोग गरिरहेका छन् । नागरिक उन्मुक्ति पार्टीका संस्थापक समेत रहेका चौधरीले टिकापुर नगरपालिकाको गाडी प्रयोग गर्दै आएका हुन्।
अस्ती बुधबार कैलाली कारागारमा टीकापुर घटनाका बन्दीलाई भेट्न उनी नगरपालिकाकै से १ झ २९४ नम्बरको गाडी गाडीमा गएका थिए। टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरी सोमबार बिहान रिहा भएका थिए। राष्ट्रपतिले आममाफी दिएपछि उनी सोमबार बिहान डिल्लीबजार जेलबाट रिहा भएका हुन्।
थरुहट थारुवान संघर्ष समितिले २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा नेपाल प्रहरीका एसएसपी लक्षमण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो। सोही घटनामा दोषी ठहर भएका चौधरीलाई अदालतले आजीवन काराबासको सजाय सुनाएको थियो।