धनगढी। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलबाट छुटेसँगै कैलाली पुगेका छन्। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि छुटेका रेशम आज धनगढीमा पुगेका हुन्।
बुधबार रेशम धनगढीको क्यापसरोड भएर कैलाली कारागारमा रहेका टीकापुर घटनाका कैदीसँग भट्न गएपनी नभेटी फर्किएका छन्। टीकापुर घटनामा जेल जीवन बिताइरहेका कैदीबन्दीले नै रेशमलाई भेट्न नमानेका हुन्। गणतन्त्र दिवसको अवसरमा टीकापुर घटनामा दोषी ठहर भई कैद सजाय भोगिरहेका पूर्वसांसद चौधरीसहित विभिन्न मुद्दाका १९ जना बन्दीलाई राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १५ मा आम माफी दिएपछि उनी रिहा भएका थिए।
उनीसँगै कैद सजाय पाएका तीन जना कैलाली कारागारमा छन्। टीकापुर नगरपालिका४, ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका ७, मोतीपुरका हरिनारायण चौधरी र जानकी गाउँपालिका ७ लट्कनियाका प्रदीप चौधरी कैलाली कारागारमा छन्। उनीहरूलाई भेट्न पूर्व सांसद समेत रहेका चौधरी बुधबार कैलाली कारागार पुगेका थिए। उनीसँगै नागरिक उन्मुक्ति पार्टीका नेताहरू लक्ष्मण थारू, सांसद अरुणकुमार चौधरी, गंगा चौधरी लगायत नेता तथा कार्यकर्ता कारागार पुगेका थिए। तर, कैदीले भेट्न नमानेपछि उनी फर्किएका छन्।
मुद्दाको प्रकृति एउटै, तर कसैलाई कैद माफी, कसैलाई जेल सजाय हुने विभेदपूर्ण व्यवहार देखिएकाले भेट्न नमानेको कैदीले बताएका छन्। न्यायमा पनि पक्षपात गरिएको भन्दै उनीहरू रुष्ट छन्। उनीहरूले आफ्नो परिवार बाहेक कसैलाई नभेट्ने भन्दै कैलाली कारागार प्रशासनलाई निवेदन दिएका छन्।पूर्व सांसद चौधरी आफू मात्रै कैद मुक्त भएको, तर आफूहरूलाई कैदमुक्त गराउन कुनै पहल नगरेको भनी उनीहरूले गुनासो गरेका छन्। कैदीहरूले नै भेट्न नचाहेकाले चौधरी लगायत नेताले भेट्न नपाएको कैलाली कारागार प्रमुख पदमराज तिमिल्सेनाले बताए। कैदीहरूले कसैसँग भेट नगराउन निवेदन पेस गरेकाले सोही निर्णय गरिएको उनले बताए ।
कारागारमा भेट्ने समय बिहान १० देखि अपराह्न ४ बजेसम्म रहेकाले पूर्व सांसद रेशम चौधरीको टोली अपराह्न ४ बजे पुगेको कारागार प्रमुख तिमिल्सेनाले बताए । यसअघि चौधरीले टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका कैदीका आफन्तसँग भेटघाट गरेका थिए। उनले हरिनारायण चौधरीकी आमा सोनियादेवी चौधरीलाई जेठ १६ मा भेटेका थिए।सोनियाले तपाईंको घरमा खुशियाली भएपनी हाम्रो घरमा रुवाबासी नै रहेको उनले दुखेसो पोख्दै भनेकी थिइन् । चुनावको वेला नागरिक उन्मुक्ति पार्टीलाई जिताएर सबै जना छुट्छन् भनेकोमा अहिले कोही नछुटेको उनले बताइन् । छोराले गल्ती नगरेको बताउँदै घरमा खान लाउन समस्या रहेको र एउटै छोरा कमाउने उमेरमा जेल सजाय भोगिरहेकोमा दुःख ब्यक्त गरिन् ।
उनले रेशम चौधरीलाई छोरा जेलबाट कहिले छुट्छ र छुटाइदिन आग्रह समेत गरेकी थिइन् । टिकापुर घटनामा प्रहरीले रेशम चौधरी सहित २७ जनालाई पक्राउ गरी कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको थियो। त्यसमध्ये जिल्ला र उच्च अदालतले ११ जनालाई जन्मकैदको सजाय सुनाएको थियो। उनीहरूमध्ये दुई जनालाई सर्वोच्च अदालतले सफाइ दिएको छ। २०७२ भदौ ७ गते भएको घटनामा आठ जना सुरक्षाकर्मी र एक जना नाबालकको ज्यान गएको थियो। त्यसको अक्रोशमा भोलिपल्ट रेशमको घर, एफएममा आगजनी भयो । थारु समुदायका ८८ वटा घरमा लुटपाट र आगजनी भयो । सोही घटनाको योजनाकारका रुपमा रेशम चौधरीलाई अदालतबाट जन्मकैदको सजाय भएको थियो।
घटनाको योजनाकारको आरोप लागेका उनी त्यसपछि भूमिगत भएका थिए। २०७४ मंसिरमा भएको चुनावमा उनी भूमिगत अवस्थामै कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतले विजयी भएका थिए । वारिसनामा उम्मेदवारी दिएर चुनाव जिते पनि प्रमाणपत्र ग्रहण गर्न उनी आफैं आउनु पर्ने भयो । त्यसैले प्रमाणपत्र बुझ्न पाउनुपर्ने मागसहित रिट हाले तर सर्वोच्चले अस्वीकार गरेपछि उनले १५ फागुन २०७४ मा कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरे । पूर्पक्षका लागि थुनामा रहेकै बेला १९ पुस २०७५ मा सांसदको शपथ लिएका उनलाई दुई महिनापछि जिल्ला अदालत, कैलालीले जन्मकैदको सजाय सुनायो भने ३ पुस २०७७ मा उच्च अदालत, दिपालयले सजायलाई सदर गरेको थियो।