काठमाडौं। टिकापुर प्रकरणमा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका रेशम चौधरीको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आम माफी पाएको विरुद्धमा परेको रिटमा सुनुवाइ हुँदैछ। बुधबार सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा उक्त रिटको प्रारम्भिक सुनुवाइ हुन लागेको हो।
शारदा बोहरा कडायतले आइतबार दर्ता गराउनुभएको रिट निवेदन सुनुवाइ गर्न न्यायाधीश भट्टराईको एकल इजलासमा पेशी तोकिएको हो ।सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी परेको छ। क्रमसंख्याअनुसार चौधरीलाई माफी दिने निर्णयविरुद्धको रिटको पेसी १४औं नम्बरमा छ।
शारदा सो घटनामा परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् । हत्याकाण्डका मुख्य योजनाकारका रूपमा रेशमविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते मात्रै सदर गरेको थियो । तर गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि चौधरी यही जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।