धनगढी। सरकारले सुदूरपश्चिमको धनगढी सहित ८ वटा विमानस्थलको स्तरोन्नति गरिने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले धनगढी विमानस्थलसहित विराटनगर, भरतपुर, नेपालगंज विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिने जनाएको छ।
त्यस्तै रुकुमको चौरजहारी, दाङको टरीगाउँ, उदयपुरको सगरमाथा रजुम्लाको खलङ्गा विमानस्थलको स्तरोन्नति गरिने जनाएको छ। दुर्गम क्षेत्रमा उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिई हवाई यातायात सुविधालाई सहज र सुलभ बनाइने समेत सरकारले घोषणा गरेको छ। धनगढी विमानस्थल स्तरोन्नति गर्ने भनिएपनि प्रक्रिया थाल्न भने ढिलाइ भइरहेको छ।
२०७६ माघ २५ गते तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईको उपस्थितिमा धनगढी विमानस्थल स्तरोन्नति सम्बन्धी २० वर्षे गुरुयोजना सार्वजनिक गरिएको थियो। धनगढी विमानस्थललाई अन्तरराष्ट्रिय मापदण्डमा स्तरोन्नति गर्न रियल पाथ इन्जिनीयरिङ कन्सल्टेन्सीले २० वर्षे गुरुयोजना तयार पारेर सार्वजनिक गरेको थियो। गुरुयोजनामा सन् २०४० सम्म विमानस्थलको ३ चरणमा निर्माण कार्य गरिने उल्लेख थियो।
भएको रनवेलाई विस्तार गर्ने, २ हजार ५ सय ५० मिटर लम्बाई र ४५ मिटर चौडाइ भएको नयाँ रनवे, चार लेनको एक्सेस रोड, नयाँ टर्मिनल भवन, इन्टरल सर्भिस रोड, जहाज पार्किङ, पब्लिक डाइभर्सन रोड, स्टाफ होस्टेल बनाउने, कन्ट्रोल टावर, कार्गो कम्प्लेक्स, रिमोट एयरक्राफ्ट पार्किङ, पाँच सय गाडी अटाउने पार्किङ, विमानस्थलको पेरीफेरीमा ७ किलोमिटर रोड बनाउने लगायतका योजना गुरुयोजनामा उल्लेख थियो। तर गुरुयोजनाअनुसार काम भने भएको छैन। बजेट नभएका कारण बाँकी प्रक्रिया अघि बढाउन सकिएको छैन। गुरुयोजनामा सन् २०४० सम्म विमानस्थलको तीन चरणमा निर्माण कार्य गरिने उल्लेख छ। पहिलो चरणमा निर्माणको लागि एक अर्ब ८ करोड, दोस्रो चरणमा ४ अर्ब ९८ करोड र तेस्रो चरणमा ६ अर्ब ८ करोड गरी कुल १२ अर्ब १४ करोड लागत कायम गरी गुरुयोजना तयार पारिएको थियो।


