धनगढी। आज जेठ १५ गते १६औं गणतन्त्र दिवस मनाइँदै छ। राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सुरु भएको दिन अर्थात् गणतन्त्र दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ।
निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था घोषणा भएको दिन। जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो।
नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ । वि.सं. २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो । तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी) बीच भएको सहमतिअनुसार वि.सं.२०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भयो ।विसं २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो। १६ औं गणतन्त्र दिवसको अवसरमा सोमवार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाइएको छ।
कार्यक्रमको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विभिन्न झाँकी प्रश्तुत गरिएको थियो। समारोहमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो। समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गरेका छन्।यस्तै यता सुदुरपश्चिमका मुख्य मन्त्री कमल बहादुर शाहले गणतन्त्र दिवस, २०८० को शुभकामना सन्देश जारी गरेका छन्। शुभकामना सन्देशमा भनेका छन्, १६ औं गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई सहित सुख शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु । लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनहरूलाई नेतृत्व प्रदान गर्ने राजनीतिक नेतृत्व तथा आन्दोलनका घाइतेप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी राजनीतिक कार्यकर्ता, नागरिक समाजका अगुवाहरू एवं आम जनसमुदायको योगदानको उच्च प्रशंसा गर्दछु ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौं । वंश परम्परामा आधारित शासन व्यवस्थालाई जनतामा निहित सार्वभौम सत्ताको प्रयोगमार्फत जनताले नै छानेका प्रतिनिधिबाट सञ्चालन हुने प्रणालीमा रूपान्तरण गर्नु हाम्रो गणतन्त्रको मूलभूत विशेषता रहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्न हाम्रो संविधानले परिकल्पना गरे बमोजिम दोस्रो कार्यकालका लागि प्रदेश तथा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । नेपालको संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेका शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, खानेपानी, सरसफाई, वातावरण संरक्षण लगायतका आधारभूत अधिकारलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै आम जनताको जीवन स्तरमा गुणात्मक परिवर्तन ल्याउन गणतन्त्र दिवसले हामी सबैलाई थप उत्साह प्रदान गर्ने विश्वास लिएको छु । अन्तमा, आजको यस ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्याय सहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।