काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टीकापुर घटनाका दोषी रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरा (कडायत) रिट बोकेर सर्वोच्च अदालत पुगेकी हुन्।
बोहराले रिट सर्वोच्च अदालतमा पेश गरेको र अदालत प्रशासन अध्ययनको क्रममा रहेको जानकारी दिइन् । गणतन्त्र दिवसको अवसरमा चौधरीलाई आममाफी दिने गरी मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । बोहराले यसअघि राष्ट्रपति कार्यालयमा पनि चौधरीलाई आममाफी नदिन निवेदन दिएकी थिइन्।
दर्ताका लागि रिटको अध्ययन भइरहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।गणतन्त्र दिवसका दिन पारेर सोमबार चौधरीलाई आममाफी दिन आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।चौधरीलाई जन्मकैदको सजाय गर्ने जिल्ला र उच्च अदालतको फैसलालाई केही दिनअघि सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।