धनगढी। कैलालीको कैलारी गाउँपालिकामा पालिका विरुद्घ नाराबाजी गरिएको छ। कैलारी गाउँपालिकामा केही वडाका वडाध्यक्षसहित नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले कार्यालयमा नाराबाजीका साथै कार्यलय घेराउ गरेका हुन्।कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधिले नेतृत्व गरिरहेको गाउँपालिकामा केही वडाध्यक्ष सहित कांग्रेसकै असन्तुष्ट पक्षहरुले नाराबाजी गरेका हुन्।
बबजेट कार्यक्रम विनियोजनमा अध्यक्ष राजसमझ चौधरीको मनलाग्दी भएको र गाउँपालिकामा सुशासन नभएको तथा अपारदर्शी रूपमा खर्च हुने गरेको भन्दै घेराउ गरिएको कुरा असन्तुष्ट पक्षबाट आएको कैलारी गाउँपालिकाको ६ नं. वडाध्यक्ष प्रेमबहादुर चौधरीले जानकारी दिए । पालिकाले वडालाई सोझै डल्लो बजेट दिनुपर्ने तथा वडाले खर्च गर्न पाउनुपर्ने माग राखेको चौधरीको भनाइ छ।
असन्तुष्ट समूहको नेतृत्व पालिका प्रवक्ता समेत रहेका वडा नंम्बर– ७ का वडाध्यक्ष दीपेन्द्र बमले गरेको बताइएको छ। तनाब उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी समेत परिचालन गरिएको छ। विरोधपछि नेपाली कांग्रेसका जिल्ला सभापति नारायण दत्त भट्ट, उपसभापति खेमराज चौधरी, नेतृ रीता चौधरी, पालिका सभापति कृष्ण चौधरीसहित पालिका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भागवती चौधरी लगाएत वडाध्यक्षहरु र असन्तुष्ट पक्षबीच छलफल चलिरहेको छ। प्रमुख प्रशासकीय अधिकृत वीरबहादुरले प्रदर्शनकारीले कर्मचारीलाई कार्यालय बाहिर निस्कन भनेपछि हाल पालिकाको कामकाज ठप्प भएको बताए।