धनगढी। नेपाल ट्रेड युनियन कांग्रेस सुदुरपश्चिम कार्य समितीले केही अराजक ब्यक्तीहरुका कारण दोस्रो अधिवेशन रोकिएको जनाएको छ।
नेपाल ट्रेड युनियन कांग्रेस सुदुरपश्चिम कार्य समिती अध्यक्ष सिद्धराज भट्टद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा कार्य समितीको दोस्रो अधिवेशन केही ब्यक्तीहरुको उमर्यादित, उद्धण्डतापुर्ण र उत्छृङ्खल गतिबिधी र ब्यवहारका कारण अधिवेशनको निर्वाचन प्रक्रिया अन्तिम चरणमा स्थगित गर्नुपरेको बताएका छन्। निर्वाचनका लागी २०८० जेठ ५ गते भव्यताका साथ उद्घाटन सत्र सम्पन्न भई मतपत्र छापिसकेको अवस्थामा केही ब्यक्तीहरुले निर्वाचन मण्डलका कर्मचारी माथी हातपात गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।
यस्तै निर्वाचन मण्डलका अधिकृत, सहायक अधिकृत र कर्मचारीलाई धक्कामुक्का, धाकधम्की दिएकोले निर्वाचन प्रक्रिया अघि बढाउन नसकिएको जानकारी दिएका छन्। नेपाल ट्रेड युनियन कांग्रेस सुदुरपश्चिम कार्य समिती अध्यक्ष भट्टले यस्तो कार्य निर्वाचन मण्डलका कर्मचारीलाई त्रास फैलाउने र प्रजातान्त्रीक मूल्यमान्यता र आचरण विपरितको कार्य भएको भन्दै घोर भत्सर्ना गरेका छन्। उनले नेपाल ट्रेड युनियन कांग्रेस सुदुरपश्चिम कार्य समिती लोकतन्त्रको मुल्यमान्यता र आचरणलाई आत्मसाथ गर्दै कर्तव्य जिम्मेवारी प्रति प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। साथै कसैको अनावश्यक हल्लाका पछाडी नलागी निकट भविश्यमै अधिवेशनलाई पुर्णरुपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।


