धनगढी। सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शनिवार दोस्रोपटक मन्त्रीपरिषद बिस्तार गराएका छन्। माघ २६ गते २०७९ मा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले पहिलोपटक माघ २७ गते दुई सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका थिए।
मुख्यमन्त्री शाहले कांग्रेसका प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार र नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाहीलाई आर्थिक मामिला मन्त्रीमा नियुक्त गरेका थिए। त्यसको ३ महिनापछि अर्थात मुख्यमन्त्रीमा नियुक्त भएको १०० दिनमा नेकपा माओवादीलाई सरकारमा समावेश गर्दै मुख्यमन्त्री शाहले दोस्रोपटक मन्त्रिपरिषद विस्तार गरेका हुन्।
दोस्रोपटक प्रदेश सरकारलाई पुर्णता दिने बताएका मुख्यमन्त्रीले सरकार गठन भएको सय दिन पूरा हुँदा हिजो शनिवार फेरी सरकारलाई पुर्णता दिन सकेनन्। उनले नेकपा माओवादी केन्द्रबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा रमेश धामी, सामाजिक विकासमन्त्रीमा झपट साउद र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा गीतादेवी माल र नेपाली कांग्रेसबाट आन्तरिक मामिला तथा कानुनमन्त्रीमा पृथ्वीबहादुर सिंह नियुक्त गराएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । राज्यमन्त्री माललाई मुख्यमन्त्री कमलबहादुर शाहले शपथ खुवाएका हुन् । तर दुई मन्त्रालय दाबी गर्दै आएको नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री शाहले सहभागिताविनै सरकार विस्तार गरेका हुन् । यसअघि सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गरी दुई मन्त्रालय दाबी गर्दै नपाए सरकारमा सहभागी नहुने प्रतिक्रिया नागरिक उन्मुक्ति पार्टीले दिएको थियो। सामाजिक विकासमन्त्रीमा झपट साउँद नियुक्त भैसकेका छन्। भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्रीले खाली नै राखेका छन् ।
यस्तै सरकार बिस्तार हुनुभन्दा एक दुई दिन अघि नै सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको जन्मकैद सदर गरेपछि सो पार्टी केन्द्र र प्रदेश सरकारमा रहने कि नरहने भन्ने द्विविधामा छ। यद्यपि, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रश्नोत्तरका क्रममा चौधरीसहितका बन्दी रिहाइका लागि आवश्यक प्रक्रिया अघि बढाउने आश्वासन दिएपछि नागरिक उन्मुक्तिले आन्दोलनका कार्यक्रम स्थगित समेत गरेको छ । नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले कृषि मन्त्रालय छुट्टयाइएको नागरिक उन्मुक्ति पार्टी सरकारमा जान अनिच्छुक देखिएपछि मन्त्रिपरिषद् अपूर्ण देखिएको बताए ।
उनले भने,‘हामी उपेक्षितजस्तो भयौं। उहाँहरू अन्तिमसम्म पनि कृषि मन्त्रालय दिन्छौं। सरकारमा आइदिनुप¥यो भन्दै हुनुहुन्थ्यो,’‘हामी सरकारमा जाने वातावरण बनेन।‘हामीले दुई मन्त्री र एक राज्यमन्त्री मागेका थियौं, अन्तिममा एउटामात्रै मन्त्रालय दिने भनेपछि जानुको अर्थ देखेनौं,’ चौधरीले भने, ‘अन्तिममा केन्द्रबाट पनि केही निर्देशन पाएनौं।’नागरिक उन्मुक्तिलाई सरकारमा ल्याउन सुदूरपश्चिम प्रदेशका सत्ता साझेदार दलहरू छलफलमै छन्। चौधरीले पनि जाने/नजाने टुंगो लाग्ने बताए।‘ केन्द्रमा पनि छलफल भएर निष्कर्ष आउँछ होला। सम्भवतः हामी सरकार बाहिरै बस्छौं। केन्द्रमा सहमति भएर जाने कुरा भयो भने कुरा बेग्लै हो, यहाँ सांसदहरूको त्यही राय छ,’ चौधरीले भने।सुदूरपश्चिमा नागरिक उन्मुक्तिको इन्दिरा गिरी, कैलाश चौधरी, खुशीराम डगौरा थारू, घनश्याम चौधरी, रामेश्वर चौधरी, लक्ष्मणकिशोर चौधरी, टीका थापा सांसद छन्।