काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई एकपटक पुनः माओवादी बनेर काम गर्न आग्रह गरेका छन्। १४ औँ राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै चन्दले सो कुरा बताएका हुन्।
नेकपा महासचिव चन्दले जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे विद्रोह हुने चेतावनी दिए। जनयुद्ध पनि जनताका माग र गुनासा नसुन्दाको विरोधमा भएको स्मरण गराउँदै अहिले पनि सोही स्थिति आइरहेको बताए। सरकारले मन्त्रिपरिषद्मा जनचाहना अनुरुपका प्रस्ताव गरे आफूले सडकबाट साथ दिने चन्दले प्रतिबद्धता जनाएका थिए।
चन्दले भने,‘नेपालमा अहिले पनि क्रान्ति जारी छ। जनयुद्ध पनि के को परिणाम थियो भन्दा मानिसले न्याय खोज्दा खोज्दा नपाएपछिको विद्रोह थियो । विद्रोह किन हुन्छन्, जनताका चाहनालाई समयमा नै सम्बोधन, संगठित गरिएन भने विद्रोहमा बदलिन्छन्। हरेक योद्धाहरूले क्रान्तिमा भाग लिइरहेको जस्तो अनूभुति गर्दछन्,उनले भने, आज त्यस्तै अनूभुति भइरहेको छ। मैले भनेको छु, क्याबिनेटमा प्रस्ताव गर्नुहोस् हामी रत्नपार्कमा बसेर साथ दिनेछौँ। हामी हरेक नराम्रा कामको विरुद्धमा उभिन तयार छौँ। तर एक पटक प्रचण्ड कमरेड फेरि माओवादी जस्तो बन्नुपर्छ नि !’