धनगढी। धनगढीमा डाक्टर मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। धनगढीस्थीत मायामेट्रो अस्पताल धनगढीमा कार्यरत २६ वर्षीया डाक्टर प्रसन्ना शाह बिहीबार बिहान आफ्नै कोठामा मृत भेटिएकी थिइन्।
धनगढी ५ हसनपुर निवासी २६ वर्षीया शाह बिहीबार बन्द कोठाभित्र झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। सो विषयमा प्रहरीले अनुसन्धान थालेको हो । चिकित्सक मृत भेटिएको घटनाको अनुसन्धानका लागि प्रहरीले धनगढीकै विकल केसीसँग सोधपुछ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार मृतकका परिवारले किटानी जाहेरी दिएपछि केसी शनिबार विहान आफैं प्रहरी कार्यालय आएका थिए।
चिकित्सक शाहको परिवारले प्रहरी कार्यालयमा पेश गरेको किटानी जाहेरीमा माया मेट्रो अस्पतालमै कार्यरत डाक्टर सन्दीप भट्टराई र धनगढीका विकल केसीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गर्न माग गरिएको प्रहरी प्रवक्ता चन्दले बताए। माया मेट्रो अस्पतालमै कार्यरत डाक्टर सन्दीप भट्टराई प्रहरी कार्यालयमा आफै आउने भनेर जानकारी गराएको प्रहरीले बताएको छ। भट्टराई भने फरार छन् ।
मृतकका आफन्तले आत्महत्या दुरुत्साहन सम्बन्धी दुवै जनाविरुद्ध किटानी जाहेरी ल्याएको बताउदै डीएसपी चन्दले जाहेरी दर्ताको प्रक्रियामा रहेको र चिकित्सक मृत्यु प्रकरणको विषयमा प्रारम्भिक अनुसन्धानको प्रक्रियालाई अघि बढाएको बताए। जिल्ला प्रहरी कार्यालयका एसपी देवेन्द्र पालले घटना प्रारम्भिक अनुसन्धानको चरणमा रहेकाले धेरै कुरा सार्वजनिक गर्न नमिल्ने बताए ।