कैलाली। कैलालीको टीकापुरबस्ती नजिकै डमरुसहितको पाटेबाघ देखा पर्न थालेका छन्। कैलालीको टीकापुर नगरपालिका वडा नंम्बर २ विजयनगर नजिकै पाटेबाघ स्थानियले देखेका हुन् । पाटेबाघ आफ्नो बच्चालाई मुखमा बोकेर हिँडिरहेको रानीकुलाको इन्टेक नजिकैको नहरको सडकमा देखिएको स्थानीय नरेश ऐरले बताए ।
बच्चासहित बस्ती नजिकै पाटेबाघ देखिएपछि स्थानीयमा त्रास फैलिएकोले सुरक्षित रहन उनले बताएका छन् । स्थानीय बलविर चौधरीले पाटेबाघले आफ्नो बच्चाको सुरक्षाका लागि आक्रमण गर्न सक्ने बताए । बच्चा बोकेर हिँडेको पाटेबाघ निकै रिसाहा हुने भएकाले कुनै पनि बेला आक्रमण गर्न सक्ने उनले बताए ।
कैलालीको पूर्वी भेगका बस्तीमा पछिल्ला वर्षहरुमा जंगली जनावरको प्रवेश बढ्न थालेको छ। टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न बस्तीमा बेलाबेलामा जंगली जनावरले मान्छेलाई आक्रमण समेत गर्ने गरेका छन्। जंगली जनावरको आक्रमणमा परेर कतिपयले ज्यान समेत गुमाएका छन्। २०७९ असार ५ गते जंगली हात्तीको आक्रमणबाट टीकापुर १ ब्लक नं १५ की ५० वर्षीया टंक सोडारी जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको थियो। उनी कर्णाली नदी किनारमा भैरहेको तटबन्धमा मजदुरी गरेर फर्किरहेकी थिइन् ।
२०७९ मंसिर ८ गते टीकापुर भुराखानी सामुदायिक वनमा घाँस काट्न गएकी ढुन्की कठायत चितुवाको आक्रमणबाट घाइते भएकी थिइन् । २०७९ चैत २४ गते टीकापुर ८ श्रीलंकाका २७ वर्षका पवन आउजी चितुवाको आक्रमणमा परे । हात र खुट्टामा चोट लागेर घाईते भएका थिए। तीन वर्ष अघि चितुवा दिउँसै टीकापुर बसपार्क नजिकै देखिएको थियो। सोही चितुवाको आक्रमणमा परेर ट्राफिक प्रहरी देवीराम धिताल घाइते भएका थिए। चितुवाले केही स्थानीयलाई समेत आक्रमण गरेको थियो।टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं.९ को एक घर छेउमा लुकेर बसेको चितुवालाई समात्न सेनाको टोलीलाई दिनभर लागेको थियो। ४ राउण्ड गोलीहानेपछि चितुवा नियन्त्रणमा आएको थियो।करिव दश वर्षअघि गैंडा टीकापुर बजारमै प्रवेश गरेको थियो बाघमारा, वन गाउँ हुँदै टीकापुर प्रवेश गरेको गैंडाले मान्छेलाई भने आक्रमण गरेको थिएन। यसरी कैलाली र कञ्चनपुरमा पछिल्लो समयमा बाधहरु देखा पर्न थालेका छन् । जसकारण स्थानियहरु त्रसित बनेका छन् ।


