काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले सरकारी वकिलको कार्यालयमा लगेको छ । आइतबार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरलाई अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्ने प्रक्रिया पूरा गर्न सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । तर, त्यसयता टोपबहादुर फरार थिए, छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेका छन् ।अदालतले म्याद दिएपछि रायमाझीमाथि प्रहरीले थप अनुसन्धान गर्नेछ ।रायमाझीले ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ।
उनको सहयोगमा नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने गिरोहले गृहमन्त्रालयसम्म पनि बलियो पहुँच बनाएको प्रहरी अधिकृतहरु बताउँछन् । यसअघि यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत उच्चपदस्थ व्यक्तिहरू पक्राउ परेका छन् । उनीहरू माथि म्याद थप गराइ प्रहरीले अनुसन्धान गरिरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसँगै १३ जना पक्राउ परिसकेका छन् ।


