धनगढी। सुदूरपश्चिमका मन्त्रालयमा भागबण्डा आकांक्षी बढी हूँदा सरकार बिस्तारमा सकस परिरहेको छ । माओवादीले तीन मन्त्रालयमा दाबी गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा पाउनुपर्ने माओवादीको अडान छ।
सत्ता गठबन्धनका दुई प्रमुख दल नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले सरकारमा जाने व्यक्तिहरुकोे टुंगो लगाइसके पनि मन्त्रालय बाँडफाटमा कुरा मिलेको छैन्। नागरिक उन्मुक्ति पार्टीले पनि सामाजिक विकास र भूमि व्यवस्था तथा कृषि मन्त्रालयमा दावी गरेको छ । यसरी मन्त्रालय भागबण्डामा आकांक्षी बढी हूँदा मुख्यमन्त्री कमल बहादुर शाहलाई मन्त्री परिषद विस्तारमा सकस भएको छ ।
मुख्यमन्त्री शाहले कांग्रेसका प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार र नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाहीलाई आर्थिक मामिला मन्त्रीमा नियुक्त गरेका थिए । त्यसबाहेक अन्य ४ मन्त्रालय मन्त्री बिहीन बनेका छन्। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय,उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्रीविहीन छन्।
सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारलाई पूर्णता दिने बताइएपनी आजसम्म मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन् । प्रदेशका सत्ता साझेदार दल माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीसँग भागबण्डा मिलिसकेकाले सरकार विस्तार हुने जानकारी दिइएको थियो। काठमाडौँमा मुख्यमन्त्रीले शीर्ष नेताहरुसँग भेट गरेर पनी कुरा मिल्न सकेन ।तर, मन्त्रिपरिषद् विस्तारबारे अहिलेसम्म कुनै तरखर गरिएको छैन।नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले प्रदेशसभा सदस्य रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने निर्णय नै गरिसकेको छ तर माओवादी केन्द्रले निर्णय गर्न बाँकी छ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलका नेता खगराज भट्टलाई आलोपालोमा साढे दुई वर्षपछि मुख्यमन्त्री बन्ने भन्दै अहिले सरकारमा नजान सुझाव दिएका छन्।सोहीअनुसार भट्ट तत्काल सरकारमा नजाने भएका छन् । संसदीय दलका नेता खगराज भट्टले सरकार विस्तारका विषयमा शीर्ष नेताहरुले कुरा टुंग्याउने भएका कारण ढिलो भएको बताए। भट्टले आफ्नो पार्टीले तीनवटा मन्त्रालयमा दाबी गरेको बताए। अहिलेसम्म सुदूरपश्चिममा चार मन्त्रालय मन्त्रीविहीन छन्। जसमा माओवादीले तीन, नागरिक उन्मुक्तिले २ मन्त्रालयसहित एक राज्यमन्त्री र नेपाली कांग्रेसले १ मन्त्रालयमा अडान राखेपछि सहमति हुन सकिरहेको छैन। अन्तिममा माओवादी केन्द्र २, नागरिक उन्मुक्ति र कांग्रेसले १–१ मन्त्रालय लिएर सहमति गर्ने तयारी भइरहेको स्रोतको दाबी छ।


