कञ्चनपुर। कञ्चनपुरको एक सडक कालोपत्रे योजना अलपत्र परेको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिकामा सडक कालोपत्रे योजना सन्सेर निर्माण सेवा धनगढीले बीचैमा काम छाडेर सम्पर्कविहीन भएपछि सडक कालोपत्रे योजना अलपत्र परेको हो।
सन्सेर निर्माण सेवाले कृष्णपुरका वडा नम्बर २ र ९ का गरी ६ वटा सडक २०७९/३/५ गतेभित्र कालोपत्रे सम्पन्न गरिसक्ने गरी २०७८/११/५ गते नगरपालिकासंग सम्झौता गरेको थियो । तर सम्झौता सकिएपनि हालसम्म सडक कालोपत्रेको काम सम्पन्न हुन सकेको छैन । सोही सम्झौता अन्तर्गत वडा नम्बर २ मा ४ वटा सडक र वडा नम्बर ९ मा २ वटा सडक कालोपत्रे कार्य गर्नुपर्ने भएपनि निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि सडक कालोपत्रे कार्य अगाडि बढ्न नसकेको हो । वडाध्यक्ष अर्जुन साउँदले सन्सेर निर्माण सेवा धनगढीका सञ्चालक दान सिंह विष्टलाई कार्य सुचारुका लागि पटकपटक पत्राचार गर्दा समेत सम्पर्कमा नआएको बताए ।
जनताको व्यापक जनगुनासोलाई मध्यनजर गर्दै निर्माण व्यवसायीलाई यथाशीघ्र सम्पर्कमा ल्याई समझौता कवोल गरेको अधुरो अपुरो कार्य सुचारुका लागि आवश्यक सहजीकरण गरिदिन वडा कार्यालयले प्रहरी प्रशासनलाई आग्रह गरेको छ ।निर्माण व्यवसायीलाई वडामा अलपत्र परेको सडक कालोपत्रेको कार्य सुचारुका लागि पटकपटक पत्राचार गरेर ताकेता गर्दा समेत सम्पर्कमा नआएको बताइएको छ । यथाशिघ्र सम्पर्कमा ल्याउन सहजीकरणका लागि प्रहरीलाई समेत आग्रह गरिएको छ।निर्माण व्यवसायी नै सम्पर्कविहीन भएपछि सडक कालोपत्रे गर्ने कार्यमा ढिलाई भएको साउँदको भनाई छ ।
निर्माण व्यवसायीको लापरबाही,ढिलासुस्तीका कारण सडक कालोपत्रे निर्माण कार्य अलपत्र परेको छ । सडक कालोपत्रेको कार्य समयमै सम्पन्न नहुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ। यस्तै वडा नम्बर ९ का २ वटा सडक पनि कालोपत्रे नहुँदा स्थानीयले सास्ती भोग्नुपरेको छ । कञ्चनपुर कृष्णपुरको पञ्चाधीन विद्यालयदेखी महेन्द्र बहादुर सिंहको घर जाने बाटो र पिपरीया चोकदेखी प्रेम नगर जाने बाटो हालसम्म पनि कालोपत्रे हुन नसकेको वडावासीको भनाई छ । सन्सेर निर्माण सेवासंग यी ६ वटा सडक कालोपत्रे गर्न नगरपालिकाले रु.१ करोड विनियोजन गरेको कृष्णपुर नगरपालिकाका इन्जिनीयर दिपेन्द्र कुँवरले बताए । सार्वजनिक खरिद नियमावली १२ औँ संसोधन भएपछि निर्माण कार्यका लागि एक वर्ष म्याद थप हुने व्यवस्था गरिएपछि पनि सडक कालोपत्रेको काम सम्पन्न हुन सकेको छैन ।
यता सन्सेर निर्माण सेवा धनगढीका सञ्चालक दान सिंह विष्टले अबको एक हप्ताभित्र सडक कालोपत्रेको काम सुचारु गरिने बताए। एक हप्ताभित्र नै सडक कालोपत्रेको काम सुचारु हुने भएकाले जेठभित्र सडक कालोपत्रे निर्माणको काम सक्ने बताए । बीचमा आफु विरामी भएका कारण सडक कालोपत्रे निर्माणको काम गर्न नसकिएको उनले बताए । वडा नम्बर २ का ४ वटा सडक र वडा नम्बर ९ का २ वटा सडक कालोपत्रे गरिने उनले बताए ।समयमै कालोपत्रे कार्य हुन नसक्दा सडक गर्मीमा धुलाम्य र बर्खायाममा हिलाम्य वडावासी आक्रोशित बन्ने गरेका छन् ।