काठमाडौं। मुक्त कमैया, कमलहरी तथा हलिया, हरवाचरवाले सरकारसँग पुनः स्थापनाको माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ती समुदायका प्रतिनिधिले सिंहदरबारमा ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले पुनः स्थापना हुन बाँकी रहेका मुक्त कमैया, कमलहरी, हलिया र हरवाचरवाको समस्याबारे आफू जानकार रहेको र पुनः स्थापनाको पहलकदमी लिइने आश्वासन दिए। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीको समेत उपस्थितिमा सो समुदायका प्रतिनिधिले ज्ञापनपत्र बुझाएका हुन् । भूमि व्यवस्था मन्त्रालयले तयार गरेको कमैया पुनः स्थापना कार्यविधि २०७९ पारित गरी हरवाचरवाको लगत सङ्कलन र छुट मुक्त कमैया, हलियाको यथाशीघ्र लगत लिई पुनः स्थापना गर्न आवश्यक बजेट विनियोजनको माग उनीहरूले गरेका हुन ।
नागरिक अगुवा श्याम श्रेष्ठले सरकारले तत्काल बाधा मजदुरको समस्या समाधान गर्न पहल गर्न अनुरोध गरेका हुन । ज्ञापनपत्र बुझाउने क्रममा मुक्त कमैयाका प्रतिनिधि, कमलहरी, हलिया र हरवाचरवा अगुवाहरूको सहभागिता रहेको थियो। त्यस्तै सासद हरि चौधरी, पूर्व सांसद हरि श्रीपाइली, आरडिएनका अध्यक्ष गणेश विके, अधिवक्ता बालाराम भट्टराई, ईश्वर सुनारसहित मुक्त कमैया, हलिया, हरवाचरवाहरुको क्षेत्रका कार्यरत सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।


