धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक नै अनिश्चित बनेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिन फागुन २१ गते प्रदेश सभाको बैठक सञ्चालन भएको थियो। त्यसपछि अनिश्चित समयका लागि स्थगित भएको बैठक हालसम्म बस्न नसकेको हो ।
सुदूरपश्चिम प्रदेश सभाको बैठकको अझै टुङ्गो लाग्न सकेको छैन। प्रदेश सरकारले पूर्णता पाउन र बजेट बिषयमा छलफल, ऐन पारित र कार्यान्वयन गराउन समस्या भएको छ। प्रदेश सरकारले पूर्णता पाउनमा ढिलाइ हुँदा त्यसको असर प्रदेश सभामा परेको हो। सरकार पूर्ण नभएका कारण प्रदेश सभा बैठकबारे अहिलेसम्म कुनै टुङ्गो नलागेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए। उनले सभामुख भीम बहादुर भण्डारी पनि संघीय राजधानी काठमाण्डौँमै रहेको उनले बताए। अहिलेसम्म बैठकबारे कुनै टुङ्गो नलागेकाले सरकारले पूर्णता नपाउँदासम्म यस्तै अवस्था रहने उनले बताए।
अघिल्लो बैठक बसेको करिब ३ महिना समय बितिसकेको छ। प्रदेश सभाले बजेट अधिवेसनको तयारी गर्ने बेलामा सुदूरपश्चिम प्रदेश सभाको अहिलेसम्म पहिलो अर्थात हिउँदे अधिवेसन नै समापन भएको छैन । बैठकको टुङ्गो लागेपछि पहिलो अधिवेसन एक दुई दिनभित्रै टुङ्ग्याएर अर्को अधिवेशन आह्वान गर्नुपर्ने सचिव बोगटीले बताए। जेठ २० गतेबाट त बजेट अधिवेसन नै गर्नुपर्ने उनले बताए। प्रदेश सभा सञ्चालनका लागि सचिवालयमा विजनेस पनि पर्याप्त मात्रामा छैन। एक वटा संशोधन विधेयक मात्रै सचिवालयमा दर्ता हुन आएको बोगटीले जानकारी दिए।
जनताको सवाल उठाउने, विधेयक, कानुन बनाउने प्रदेश सभालाई सरकारले अनिर्णयको बन्दी बनाएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आरोप लगाएको छ। सो पार्टीका प्रदेश सचिवसमेत रहेका प्रदेश सभा सदस्य धर्मराज पाठकले सरकारले राम्रो काम गर्न नसकेको र सदनलाई विजनेस दिन नसकेको बताए। सरकारका प्रवक्तासमेत रहनु भएका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले मन्त्रीपरिषद् विस्तारपछि प्रदेश सभाको बैठक सञ्चालन हुने बताए। लामो समयसम्म प्रदेश सभाको बैठक सञ्चालन हुन नसक्दा सचिवालय फूर्सदिलो भएको छ। मन्त्रालयको नेतृत्व गर्ने मन्त्री नहुँदा चालू वर्षको बजेट कार्यान्वयन र आगामी वर्षको बजेटका लागि योजना तर्जुको काम प्रभावित छन्।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय गत २६ पुसदेखि मन्त्रीविहीन छन्। पुस २६ मा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वको सरकार मन्त्रिपरिषद् विस्तार गर्न नपाउँदै एक महिनामै ढलको थियो। २६ माघमा काँगे्रसका संसदिय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियूक्त भएका थिए। उनले कांग्रेसबाट मुख्यमन्त्रीसहित प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास र एकीकृत समाजवादीबाट नरेशबहादुर शाही आर्थिक मामिलामन्त्री बनाएका छन्। त्यसबाहेक मन्त्रीपरिषद बिस्तार गर्न सकेका छैनन्।


