खोटाङ। बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई शुक्रबार पक्राउ परेका छन् । शुभद्रा मदन फाउन्डेसनका सञ्चालकसमेत रहेका राईलाई आफ्नै फाउन्डेसनमा अध्ययनरत बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले उनलाई गरेको हो ।
राईलाई दिउँसो करिब १२ बजेतिर पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले बताए । ‘राईलाई नियन्त्रणमा लिएर अनुसन्धान बढाएका छौं,’ मुकारुङले भने, ‘विस्तृत कुरा अनुसन्धानपछि थाहा हुन्छ ।’उनले आफ्नो विद्यालयमा आबद्ध बालबालिकालाई अश्लील शब्द प्रयोग गर्ने‚ अश्लील हर्कत गर्न लगाउनेलगायत दूराचार गरेको सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो । सञ्चार माध्यममा पीडित बालबालिकाका भनाइसहित र राईको अश्लील हर्कत झल्किने भिडियो सामग्री संलग्न गरेको थियो ।
राईलाई अहिले जिल्ला प्रहरी कार्याल खोटाङको हिरासतमा राखिएको छ। एकजना पीडित पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ। वैकल्पिक शिक्षाको नारासहित दिक्तेल रुपाकोत मझुवागधी नगर्पालिका-२ सोल्मामा रहेको फाउन्डेसनमा डेढ सय विद्यार्थी बसिरहेका छन्। उनले आफैँद्वारा सञ्चालित फाउन्डेसनमा राखिएका बालबालिकालाई पटक पटक यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो।अनुसन्धानका लागि राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रनाउ मन्जिल मुकारुङले बताए।


